११ बजेबाट मतगण्ना गर्ने तयारी
१६ बैशाख, चुलाचुली ।
इलाम २ उपनिर्वाचनको मतदानपछिको मतगणना कार्य सुरु गर्न आइतबार बिहान सर्वदलीय बैठक सुरु भएको छ ।
हिजो सम्पन्न मतदानपछि पतपेटिका इलाम सदरमुकामको गौतम बुद्ध समागृह (ग्रिनसिटी)मा ल्याइसकिएको छ । मतदानको गणनाका लागि भर्खरै सर्वदलीय बैठकसुरु भएको हो । सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना कार्य शुरु गरिने निर्वाचन कार्यालय इलामले जनाएको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार राजनीतिक दल र उम्मेदवारसहित सरोकारवाला सर्वदलीय बैठकमा सहभागी छन् । बैठक सम्पन्न गरेर बिहान ११ बजेबाट मतगणना शुरु गर्ने निर्वाचन कार्यालयको तयारी छ ।
कार्यालयले दिएको जानकारी अनुसार द्रुतगतिमा मतगणना सम्पन्न गर्न २ ठाउँमा मतगणना हुनेछ ।
शनिबार सम्पन्न मतदानमा ६० प्रतिशत मत खसेको अनुमान गरिएको इलाम २ मा राजनीतिक दलका १२ र स्वतन्त्रका ७ जना गरी जम्मा १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
एमाले नेता एवम् सांसद सुवासचन्द्र नेम्वाङको निधन भएका कारण रिक्त इलाम २ को प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन भएको हो । एमालेबाट सुवासपुत्र सुहाङ नेम्बाङ, काँग्रेसबाट सुवासका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनकुमार योङहाङ लिम्बू । पहिचानवादीका साझा उम्मेद्वार बनाइएका डकेन्द्रसिंह लिम्बूबीच मुख्य चुनावी प्रतिस्पर्धामा हुने अनुमान गरिएको छ ।