कमन देवान
१६ बैशाख, इलाम ।
इलाम २ उपनिर्वाचनको जारी मतगणनामा फाकफोकथुमका १, २, ३, ४ र ५ वडाका मतगणना सम्पन्न गर्दा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङको अग्रता देखिएको छ ।
पाँच वडामा मतगणना सकिँदा एमालेका नेम्बाङले ३ हजार २४९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका काँग्रेस उम्मेदवार डम्बर खड्काको २ हजार ४६९ मत छ । दुई उम्मेद्वारबीचको मतान्तर ७७० छ ।
यसअघि फाकफोकथुमको १, २ र ३ को मतगणना गरिसक्दाको अवस्थामा खड्काका ेअग्रता रहेको थियो भने ४ नम्बर वडाको गणना सकिँदा नेम्बाङको अग्रता देखिन थालेको थियो । ५ नम्बर वडाको मतगणना सकिँदा दुई जनाबीचको मतान्तर बढेको हो ।
पहिचानवादीका साझा उम्मेद्वार डकेन्द्रसिंह लिम्बू ७०३ मतका साथ तेस्रो स्थानमा छन् भने रास्वपाका मिलनकुमार योङहाङ लिम्बू ४३४ मतका साथ चौँथो स्थानमा छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चुनावी स्पर्धाका बाँकी उम्मेद्वारले अहिलेसम्म १०० मत कटाएका छैनन् ।
इलाम ७ स्थित गौतम बुद्ध सभागृहमा जारी मतगणना कार्य शान्तिपूर्ण किसिमले जारी रहेको इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
इलाम २ का १ लाख १५ हजार ८८९ मतदाता रहेकामा शनिबार सम्पन्न मतदानमा ६९ हजार २८७ (६० प्रतिशत) मत खसेको अनुमान गरिएको इलाम २ मा राजनीतिक दलका १२ र स्वतन्त्रका ७ जना गरी जम्मा १९ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।
यस निर्वाचन क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा र इलाम नगरपालिका(१० नम्बर वडा बाहेक) ११ वटा वडा, देउमाई नगरपालिकाका सबै वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समावेश छन् ।
एमाले नेता एवम् सांसद सुवासचन्द्र नेम्वाङको निधन भएका कारण रिक्त इलाम २ को प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन भएको हो ।