adv

इलाम २ उपनिर्वाचन– ३ वटा पालिकाका करिब २८ हजार मतगणना सकियो

एमाले उम्मेद्वार नेम्बाङको अग्रता कायमै, ३७ सय बढीको मतान्तर

कमन देवान
१७ बैशाख, इलाम ।


इलाम २ उपनिर्वाचनको जारी मतगणनामा मध्यान्ह १२ बजेसम्म यो समाचार तयार पार्दासम्म तीन वटा पालिकाका २७ हजार ८७५ मत गणन सकिएको छ । जसमध्ये २६१ मत बदर भएको छ ।

फाकफोकथुमको ७ वटा, चुलाचुलीको ६ वटा र माङसेबुङको ६ वटा गरी १९ वडाको मतगणना सकिएको हो ।

१९ वटा वडामा मतगणना कार्य सम्पन्न भइसकेकाको अवस्थामा नेकपा एमालेतर्फका उम्मेद्वार सुहाङ नेम्बाङले अग्रता थप बढाएका छन् ।

नेम्बाङले ११ हजार ७८ मत पाउँदा उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका प्रत्यासी डम्बरबहादुर खड्का ७ हजार ३२४ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै पहिचानवादीका साझा उम्मेद्वार डकेन्द्रसिंह लिम्बू ६ हजार ९०१ मतका साथ तेस्रो स्थानमा कायम छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार मिलन लिम्बू १ हजार ५१२ मत पाएर चौंथो स्थानमा छन् ।

यी पालिकाका मत परिणाम सकिँदा एमालेका नेम्बाङ र काँग्रेसका खड्काबीचको मतान्तर थप बढेको छ । यी दुई उम्मेद्वारबीच ३ हजार ३५७ मतको अन्तर छ ।

फाकफोकथुम र चुलाचुलीका वडाहरुको कुल मतका आधारमा एमाले अगाडि रहन सफल भयो भने माङसेबुङको मतपरिणामले यस पालिकामा पहिचानवादी साझा उम्मेद्वार लिम्बूले पहिलो मत पाएका देखियो ।

स्थानीय तह निर्वाचन २०७९ मा ६ मध्ये चुलाचुलीका ५ वटा वडामा बाजी मारेको काँग्रेसले यस उपनिर्वाचनको पतपरिणाम हेर्दा वडाहरुमा आफ्नो त्यो साख जोगाउन सकेको देखिएन । काँग्रेसले आफ्नो बलियो आधार क्षेत्र इलाम नगरपालिका र देउमाई नगरपालिकाका वडाहरुलाई मानेको छ । उसले एमालेसँग द्रुत मतले बढिरहेको मतान्तर घटाउन सकिरहेको भने छैन ।

पहिचानवादीका उम्मेद्वार लिम्बूले चुलाचुली गाउँपालिकाको मतपरिणामका आधारमा दोस्रो बढी मत पाएका छन् भने माङसेबुङ गाउँपालिकाको सबै मत गणना गर्दा पहिलो मत पाएका हुन् । वर्तमान किरात धर्मगुरु आत्मनन्द लिङ्देनको प्रभावक्षेत्र रहेको माङसेबुङको ५ र ३ मा लिम्बूका लागि राम्रो मत झरेको हो ।

इलाम २ को सहरी क्षेत्र मानिएको इलाम नगरपालिका र देउमाई नगरपालिकामा रास्वपाले आफ्नो मत बढ्ने र आफ्नो तल रहेको मत परिणामको ग्राफ माथि आउने दावी गरे पनि वर्तमान मत परिणामकै आधारमा विश्लेषण गर्दा त्यो सम्भावना उत्ति बलियो मान्न सकिन्न ।

इलाम २ मा पर्ने माई नगरपालिकाको तीन वटा वडामा एमाले र पहिचानवादीकै बीचमा कसले बढी मत पाउने भन्ने प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

निर्वाचन कार्यालय इलामले दिएको जानकारी अनुसार हालसम्म मतगणना कार्य शान्तिपूर्ण र निरन्तर जारी रहेको छ भने अहिले माई नगरपालिकाको मत गणना जारी छ ।

इलाम २ का १ लाख १५ हजार ८८९ मतदाता रहेकामा शनिबार सम्पन्न मतदानमा ६९ हजार २८७ (६० प्रतिशत) मत खसेको अनुमान गरिएको इलाम २ मा राजनीतिक दलका १२ र स्वतन्त्रका ७ जना गरी जम्मा १९ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।

यस निर्वाचन क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा र इलाम नगरपालिका (१० नम्बर वडा बाहेक) ११ वटा वडा, देउमाई नगरपालिकाका सबै वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समावेश छन् ।

एमाले नेता एवम् सांसद सुवासचन्द्र नेम्वाङको निधन भएका कारण रिक्त इलाम २ को प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन भएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु