१९ बैशाख, काठमाडौँ ।
संयुक्त राष्ट्रसंघको भूमिकालाई सवल र प्रभावकारी बनाउन नेपालको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको ७५औँ बैठकमा भाग लिन हाल न्युयोर्कमा रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसंघ बारे नेपाल सरकारको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राष्ट्रसंघको ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँगको भेटवार्तामा उपप्रधान एवम् स्वास्थ्य मन्त्री यादवले सो प्रतिबद्धता व्यक्त गरेको संयुक्त राष्ट्र सङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको हो ।
यादवले सो बैठकमा बोल्दै जलवायु परिवर्तन र नेपालजस्ता अति कम विकसित देशले भोग्नुपरेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्वका बारेमा विचार व्यक्त गरेका बताइएको छ ।
महासभाका अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी मातृ तथा प्रजनन स्वास्थ्यमा भएको उल्लेखनीय सुधारको सराहना गर्दै नेपालको दिगो विकासका लक्ष्य प्राप्ति तथा जलवायु परिवर्तनका असर घटाउन राष्ट्रसंघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका बताइएको छ ।