१९ बैशाख, दमक ।

प्रदेश नम्बर १ मा पहिचानको निम्ति आन्दोलनरत पक्षलाई विभिन्न समयमा कटाक्ष गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः इलाम २ उपनिर्वाचनको विषय बनाएर पहिचान पक्षधर आन्दोलनकारी पक्षमाथि प्रहार गरेका छन् ।
इलाम २ उपनिवार्चनमा सहज जित निकालेपछि एमाले अध्यक्ष ओलीले भने –‘सुहाङलाई राजाको छोरा भनेर तुलना गरिएको थियो, के सुवास नेम्बाङ राजा हुनुहुन्थ्यो ? उहाँ जनताको छोरा होइन । योद्धाको छोरो योद्धा नभएर के स्यालको छोरा बाघ हुन्छ ?’
‘नेपालीको पहिचान कि सुखी नेपाली हुन्छ, कि दुःखी नेपाली हुन्छ । जात विशेषको पहिचान भनेर प्रदेशको नाम रहन्न’, नेपाल र नेपालीको एउटै मात्र पहिचान नेपाली हुने भन्दै ओलीले पहिचान पक्षधरहरुलाई कटाक्ष गरेका थिए । ‘कोशी नाम प्रदेशको साझा नाम राखेर केही बिग्रिएको छैन’, उनले थपे ।
ओली इलाम २ उपनिर्वाचनपछिको विजयी जुलुशमा सहभागी हुन मंगलबार दिउँसो इलाम बजार पुगेका थिए । इलाम २ को अन्तिम मत परिणाम मंगलबार बिहान सार्वजनिक भएको थियो ।
एमाले उम्मेद्वार सुहाङ नेम्बाङले २७ हजार ७७२ मत पाएर निर्वाचित भए भने नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत पाए । नेम्बाङ र खड्काबीचको मतान्तर ५ हजार ८३० रह्यो ।
२०७९ को निर्वाचनमा सुहाङ पिता स्वर्गीय सुवास नेम्बाङसँग चुनावी प्रतिस्पर्धा गरेका खड्काले ११४ मतले निर्वाचन हारेका थिए ।
यस उपनिर्वाचनमा पहिचानवादीहरुका साझा उम्मेद्वार डकेन्द्रसिंह लिम्बूले ११ हजार ४५७ मत पाए । उनी स्वातन्त्र चुनाव चिन्ह मुढा लिएर चुनावी प्रतिस्पर्धामा थिए ।
एमाले, काँग्रेस र मुढा चिन्हले बाहेक इलाम २ उपनिर्वाचनबाट आफ्नो जमानत सुरक्षित गर्न सकेनन् । १० हजार मत कटाउने अपेक्षा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलनकुमार योङहाङ लिम्बूले ५ हजार ५० मत पाएर चौंथो भए ।
यसैबीच सुहाङलाई उनका निकतम प्रतिद्वन्द्वी खड्कलगायत अन्य प्रतिस्पर्धीले निर्वाचित भएकोमा बधाइ दिएका छन् । खड्का, र लिम्बूद्वयले नेम्बाङलाई बधाइ दिँदै निर्वाचनमा हार जित हने भए पनि लोकतन्त्रले जितेको प्रतिक्रिया दिएका छन् ।
खड्काले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् –‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन अनि निर्वाचन मार्फन स्वस्थ प्रतिस्पर्धा गने र विजयीले सबै पक्षलाई समेटेर अगाडि बढ्ने हो ।’
चार जना उम्मेद्वार बाहेक स्वातन्त्र ६ र दलका ९ गरी इलाम २ उपनिर्वाचनमा १९ जना चुनावी प्रतिस्पर्धामा थिए । चार अङ्क भन्दा माथिको नतिजा चार जना उम्मेद्वारलाई मात्रै प्राप्त भयो भने पाँच जना उम्मेद्वार तीन अङ्कको बीचमा मत पाउन सफल भए । त्यस्तै बाँकी १० जना उम्मेद्वार दोहोरो अङ्कमै सीमित भए ।
इलामको फाकफोकथुम गापाका सबै ७ वडा, चुलाचुली गापाका सबै ६ वडा, माङसेबुङ गापाका सबै ६ वडा, माई नपाका ३ वटा वडा, देउमाई नपाका सबै ९ वडा र इलाम नपाका वडा नम्बर १२ बहेकका ११ वटा वडा समेटिएको इलाम २ मा कुल १ लाख १५ हजार ८८९ मतदाता रहेका थिए । जसमा ६९३७४ मत खसेकोमा ९०२ मत बदर भएको थियो ।