३१ बैशाख, काठमाडौं ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय समिति बैठक आज सोमबार सुरु हुँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै जसपा नेपाल विभाजन गरिदिएको आसयको सार्वजनिक भाषण नै गरेपछि जसपा नेपाल सरकारबाट बाहिरिने तरखरमा छ ।
अशोक राई समूहले पार्टी विभाजन गरी निर्वाचन आयोगमा हुबहू नामको जनता समाजवादी पार्टी दर्ता गरेपछि जसपा नेपालले पछिल्लो राजनीतिक विषयमा छलफल गर्न बैठक डाकेको हो ।
पार्टीको विषय र आउँदो जेठ २८–३० मा आह्वान गरिएको पार्टीको प्रथम एकताको महाधिवेशन बारे छलफल गर्न र योजना बनाउन बैठक डाकिएको प्रचार विभाग प्रमुख एवम् जसपा नेपाल राजनीतिक समिति सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।
दल विभाजन सम्बन्धी ऐनको दफा नै निष्कृय भएको समयमा निर्वाचन आयोगले पार्टी विभाजन, दर्ता प्रक्रिया र जनप्रतिनिधिहरुको सनाखतमा समेत अनावश्यक रुची देखाइरहेको भन्दै जसपा नेपालले अयोगको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ ।
ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा आजबाट सुरु हुने केन्द्रीय समिति बैठक भोलिसम्म चल्ने छ ।