२ जेठ, दमक ।
मुक्कुम्लुङ क्षेत्रको मुन्धुमी र मौलिक मूल्य मान्यता नष्ट गरी केबलकार निर्माण गर्ने बहानामा जैविक तथा पर्यावरणीय क्षति पुर्याइको विरोधमा आह्वान गरिएको यातायात बन्दका कारण ताप्लेजुङ जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
मुक्कुम्लुङ क्षेत्रमा केबलकारका नाउँमा हजरौं वर्ष पुराना रूख काटेर वातावरणीय क्षति पुर्याउने र याक्थुङ लिम्बू समुदायको उत्पत्तिसँग जोडिएको मुक्कुम्लुङको आस्थामाथि प्रहार गरिएको भन्दै ताप्लेजुङ जिल्ला, मेची राजमार्ग र तमोर करिडोरमा यातायातबन्द आह्वान गरिँदा जनजीवन कष्टकर बनेको हो ।
मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुम चुम्लुङ संघीयसमितिलगायतका संघसंस्थाको आह्वानमा यातायात बन्द गरिएको हो ।
बन्दका कारण ताप्लेजुङ बजार र मेची राजमार्ग त्यसैगरि तमोर करिडोरमा सवारी साधन चलेका छैनन् ।
बन्दकर्ताले मुक्कुम्लुङ क्षेत्रमा केबलकार बनाउने योजना खारेज गर्नुपर्ने र रुख काटेकोमा सार्वजनीक माफी माग्नुपर्ने माग अघि सारेका छन् ।
मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माणका नाउँमा याक्थुङ लिम्बू समुदायको उत्पत्ति, मुन्धुम र आस्थामाथि प्रहार गर्ने काम भएको र जैविक विविधता नष्ट गरिएको भन्दै यस अघि नै जनता समाजवादी पार्टी, नेपाल प्रदेश १, संघीय लिम्बुवान प्रान्तीय मञ्चलगायतले विज्ञप्ति जारी गरेर विरोध गरेका छन् ।
मुक्कुम्लुङ क्षेत्रमा पाथिभरा केबलकार प्रालि नामक व्यवसायिक कम्पनीमार्फत आईएमाई ग्रुपका सञ्चालक चन्द्र ढकालले सरकारका सम्पूर्ण संयन्त्र नै खरिद गरेर यो परियोजना अगाडि बढाउन खोजेको मुक्कुम्लुङ संरक्षणका निम्ति संघर्षरत पक्षको आरोप छ ।
व्यवसायी ढकाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् । उनले पाथिभरा केवलकार प्रालि हत्याउनु भन्दा अगाडि यो परियोजना एमाले अध्यक्ष केपी शर्मा ओली निकट यति एयरलाइन्सका अध्यक्ष आङ्छिरिङ शेर्पाले अगाडि बढाएका थिए । शेर्पाको निधन ६ वर्ष अघि ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित निधन भएको थियो ।
पछिल्लो समय दाहाल नै अघिल्लो पटक प्रधानमन्त्री भएका बेला केबलकार निर्माणका लागि रुख कटान गर्न सरकारले स्वीकृति दिएको थियो । त्यतिबेला वन मन्त्री रहेका बिरेन्द्र महतोले रुख कटानका लागि स्वीकृति दिएका थिए । महतो अहिले अशोक राई जनता समाजवादी पार्टी (जसपा) मा छन् ।
जसपाकी उपाध्यक्ष एवम् ताप्लेजुङकै समानुपतिक सांसद सुशिला श्रेष्ठ र समानुपातिक प्रदेश सदस्य निर्मला लिम्बू पछिल्लो घटना बारे मौन छन् । यस अगाडि जसपा नेपाल विभाजन नहुँदा भने उनीहरु दुवैले केबलकार निर्माण परियोजनाको विरोध गर्दै आएका थिए ।
निर्माण पक्षले भने सोमबार बिहानैदेखि रैथाने गुराँसका रुख कटान थालेको थियो ।