१२ जेठ, दमक ।
आज विश्व फुटबल दिवस । संयुक्तराष्ट्र संघले मे २५ लाई विश्व फुटबल दिवसका रूपमा मनाउने निर्णय गरेसँगै यस वर्षबाट यो दिवस मनाउन थालिएको हो ।
राष्ट्रसंघको महासभाले गत मे ७ तारिकमा मे २५ लाई विश्व फुटबल दिवसका रूपमा मनाउने संकल्प पारित गरेको थियो । सन् १९२४ मे २५ मा पेरिसमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिकमा फुटबल खेल समावेश गरी इतिहासकै पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना भएको थियो ।
राष्ट्र संघले फुटबलले अन्तर्राष्ट्रिय मान्यता पाएको एक सय वर्षको अवसर पारेर विश्व फुटबल दिवस मनाउन आफ्ना सबै सदस्य राष्ट्र, राष्ट्र संघका निकायहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, शिक्षाविद्हरू, नागरिक समाज र निजी क्षेत्रलाई आह्वान गर्ने निर्णय समेत गरेको थियो ।
फुटबलको विश्वव्यापी पहुँच र वाणिज्य, शान्ति र कूटनीति लगायत विभिन्न क्षेत्रमा यसको प्रभाव, र फुटबलले सहयोगको लागि आधार सिर्जना गर्दछ भन्ने मान्यता राष्ट्र संघको रहेको छ ।