१८ जेठ, काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आउँदो असार दोस्रो हप्ताभित्रै एसईई परीक्षाको नतिजा प्रकाशित गर्नेगरी तयारी थालेको हो ।
विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकिएको र हाल परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको जनाएको छ ।
‘अहिलेसम्मको हाम्रो कार्य प्रगति अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिन्छ’, परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने ।
२०८० चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख बढी परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले यस वर्षको एसईई परीक्षा माध्यमिक शिक्षा पाठ्यक्रम २०७८ अनुसार सञ्चालन गरेको थियो, जसमा १०० पूर्णाङ्क भएको विषय उत्तीर्ण गर्न सैद्धान्तिकतर्फ मात्रै न्यूनतम ३५ अंक ल्याउनुपर्ने छ ।