२२ जेठ २०८१, मंगलवार
सजन राई । माङसेबुङ । इलामको माङसेबुङमा सम्पन्न वडा स्तरीय भेट्रान्स प्रतियोगिता २०८१ को उपाधि माङसेबुङ-६ ले जितेको छ ।
मंगलवार माङसेबुङ-२ चित्रे स्थित डोलटार खेल मैदानमा सञ्चालन भएको फाइनल खेलमा माङसेबुङ-६ ले माङसेबुङ-२ लाई १-० गोल अन्तरले हराउदै उपाधि कब्जा गरेको हो ।
मौसम प्रतिकूल नबन्दा ढिलो सुरु भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । जलमग्न मैदानमा भएको खेलमा दुवै टोलीले पाएको अवसर पानीका कारण सदुपयोग गर्न सकेन ।
दोस्रो हाफको २३औं मिनेटमा मन कुमार राईले गरेको एक मात्र गोल वडा ६ लाई च्याम्पियन बनाउन पर्याप्त भएको थियो ।
फाइनल खेलको म्यान अफ द म्याच विजयी टिमका ध्रुव राई घोषित भए ।
व्यक्तिगत विधा तर्फ हाइ स्कोरको उपाधि वडा ६ का मन कुमार राईले हात पार्दा प्लेयर अफ द टुर्नामेन्ट वडा २ का लिल बहादुर लिम्बू भए ।
सेमिफाइनल खेलमा वडा २ ले वडा १ लाई शून्यका विरुध्द ३ गोल गर्दै फाइनल पुगेको थियो भने वडा ६ ले
वडा ३ लाई ५-२ गोल अन्तरले हराउदै उपाधि भिडन्तमा पुगेको थियो ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा ४० वर्ष माथिका खेलाडीहरु सहभागी भएका थिए ।
प्रतियोगिताको विजेता वडा ६ ले नगद २० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता बनेको वडा २ ले नगद १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका थिए ।
विजेता टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, अतिथि माङसेबुङ गाउँपालिका प्रवक्ता सुसन राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा माङसेबुङका ५ नम्बर वडा बाहेक ५ वटा वडाका ‘ए’ टिम साथै वडा नम्बर ६, ३ र २ को ‘बि’ टिम सहित आठ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता वार्षिक रुपमा आयोजना गर्ने तर भेट्रान्स सहित अन्य प्रतियोगिता समेत आयोजना हुने आयोजक समितिले जानकारी दिए ।