adv

जसपा नेपालको एकताको पहिलो महाधिवेशन आजबाट सुरु हुँदै, १२ सय संख्यामा प्रतिनिधि सहभागी हुने

कमन देवान

२८ जेठ, जनकपुरधाम ।

जसपा नेपालको एकताको पहिलो महाधिवेशन उद्घाटनस्थल जनकपुरधामको तिरहुतीया गाछीमा पण्डालसहित व्यवस्थित कार्यक्रमस्थल निर्माण गरिँदै । तस्वीर हरप्रहर न्यूज

जनता समाजवादी पार्टी (जसपा) नेपालको एकतको पहिलो महाधिवेशन आज (सोमबार)बाट सुरु हुँदैछ । मधेश प्रदेश जनकपुरधामको तिरहुतीया गाछीस्थित खुला प्राङ्गणमा दिउँसो १ बजे उद्घाटन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।

जसपा नेपाल पार्टी स्रोतका अनुसार पार्टीका सबै शीर्ष नेतागण केही दिनयता महाधिवेशनस्थल जनकपुरधामै छन् ।

महाधिवेशनमा सहभागी हुन राजधानीसहित उपत्यकाका जिल्लाबाट प्रतिनिधिहरु, झापा, मोरङ, सुनसरीसहित प्रदेश नम्बर १ का पहाडी जिल्लाका प्रतिनिधिहरु आइतबार रातिसम्म जनकपुरधाम आइसकेका छन् भने नजिकका जिल्लाहरुबाट सोमबार बिहानैदेखि जनकपुरधाम पुग्ने क्रम छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु हुने महाधिवेशनको उद्घाटन समारोहमा नेपालका राष्ट्रिय मान्यता पाएका सबै राजनीतिक दलहरुलाई निम्ता गरिएको जसपा नेपाल प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

त्यस्तै भारत, मलेशिया, स्पेन, अजरबैजान, इन्डोनेशियालगायत विदेशी मुलुकका प्रतिनिधिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउने बताइएको छ ।

जसपा नेपालले पहिलो एकताको महाधिवेशनमा सहभागी प्रतिनिधि र पर्यपेक्षकहरुका लागि महाधिवेशन अवधिभरका लागि आपतकालीन निःशुल्क स्वास्थ्य उपचार सेवाको व्यवस्थासमेत गरेको छ ।

जसपा नेपाल केन्द्रीय स्वास्थ्य विभाग प्रमुख डा. सुरेन्द्र कुमार यादवले दिएको जानकारी अनुसार जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल र जनकपुर सुरक्षा अस्पताल, महोत्तरीस्थित जानकी एकेडेमिक हस्पिटल रामगोपालपुर ९, रौतहटस्थित चन्द्रनगर अस्पताल चन्द्रनिगाहपुर, सिरहास्थित भूमीजा अस्पताल गोलबजारमा यस्तो सुविधा उपलब्ध हुने छ । महाधिवेशनस्थलमा पनि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

पूर्व पश्चिम राजमार्गस्थित धनुषा जिल्लाको ढल्केवरमा जसपा नेपालको एकताको पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधि पर्यवेक्षकहरुलाई स्वागत गर्न निर्माण गरिएको स्वागतद्वार । तस्वीर हरप्रहर न्यूज

महाधिवेशनको दोस्रो दिन मंगलबार पार्टीको राजनैतिक वैचारिक दस्तावेजसहित भावी नीति तथा कार्यक्रम बारे प्रतिवेदन प्रस्तुत गरी आवश्यक छलफलसहित पारित गर्ने कार्यक्रम रहेको छ भने नयाँ नेतृत्व चयनका लागि बुधबार मनोनयन दर्तालगायत निर्वाचन कार्यक्रम राखिएको छ ।

केन्द्रीय निर्वाचन तदर्थ समितिका संयोजक देवनारायण यादवले महाधिवेशनको बन्दसत्रमा पार्टीको संगठित सदस्यहरु मध्येबाट संघीय निर्वाचन क्षेत्रगत रूपमा निर्वाचित भई आएका, प्रदेश समिति र राष्ट्रिय समितिहरुबाट, जिल्ला समितिबाट आएका र केन्द्रीय निकाय, विभिन्न जनवर्गीय संगठनबाट गरी एक हजार दुई सय प्रतिनिधि सहभागी हुने तय भएको जानकारी दिए ।

पार्टीको पहिलो एकताको महाधिवेशनबाट खुला प्रतिस्पर्धा हुने गरी केन्द्रीय अध्यक्ष १, सह अध्यक्ष १, उपाध्यक्ष एक महिलासहित ३, महासचिव १, उपमहासचिव एक महिलासहित ३, सचिव विभिन्न सामाजिक क्लष्टरमध्ये २ महिला अनिवार्य हुनेगरी ७ जना निर्वाचित हुने छन् भने एक जना कोषाध्यक्ष निर्वाचित हुने छन् ।

कुल १५१ सदस्यीय केन्द्रीय समितिमा १७ पदाधिकारी र बाँकी केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुने जनाइएको छ । जसमा विभिन्न सामाजिक क्लष्टरहरुबाट १०६ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

जसपा नेपालले तय गरेको समाजिक क्लष्टरमा आदिवासी जनजाति, मधेसी, खस क्षेत्री र ब्राह्मण समूह, थारु, दलित, मुस्लिम र अपाङ्गता भएका र अल्पसंख्यक गरी सात क्लष्टर समावेश छन् । यी सबै क्लष्टरमा महिला अनिवार्य ३३ प्रतिशत र युवा ४० प्रतिशत निर्वाचित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु