कमन देवान
२९ जेठ, जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समिति संख्या वृद्धि गर्ने भएको छ । जसपा नेपालको विधानमा व्यवस्था भएको १७ पदाधिकारी सहित १५१ संख्या रहेको केन्द्रीय समितिलाई वृद्धि गरी २० जना पदाधिकारीसहित २०१ पुर्याउन लागिएको हो ।
जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय समिति संख्या १५१ बाट वृद्धि गरी २०१ पुर्याइने छ ।
अघिल्लो वर्ष २०८० को असारमा सम्पन्न विधान अधिवेशनबाट जसपा नेपालले पार्टीमा सङ्घीय परिषद् अध्यक्ष र केन्द्रीय समिति अध्यक्ष गरी दुई अध्यक्षीय प्रणाली अवलम्बन गरेकोमा सङ्घीय परिषद् अध्यक्ष खारेज गरेर एक जना मात्रै अध्यक्ष रहने प्रस्ताव गरिएको छ ।
पार्टीको केन्द्रीय पदाधिकारीमा उपाध्यक्ष संख्या ३ बाट वृद्धि गरी ५ पुर्याउने प्रस्ताव गरिएको छ भने १ महासचिवबाट थपेर दुई जना महासचिव राख्ने प्रस्ताव गरिएको छ । यसरी कुल पदाधिकारी संख्या २० पुग्ने छ भने विधानमै पार्टीमा वरिष्ठ नेता रहने व्यवस्थाको प्रस्ताव गरिएको छ । वरिष्ठ नेतालाई केन्द्रीय अध्यक्ष र सहअध्यक्ष पछिको वरियतामा राख्न लागिएको छ ।
यसरी संख्या थप गर्दा खुला ३० प्रतिशत र सामाजिक क्लष्टरतर्फ ७० प्रतिशत कायम गर्ने नीतिमा भने कुनै फेरबदल नहुने नेता चेम्जोङको भनाई छ ।
‘महाधिवेशनमा सहभागी प्रतिनिधि संख्यासमेतलाई ध्यानमा राखेर केन्द्रीय समिति संख्या वृद्धि गर्न लागिएको हो । समितिको संख्या थप हुँदा ७० प्रतिशत क्लष्टर अनुसार नै संख्या वृद्धि हुने भएकोले सकेसम्म साझा किसिमको समिति निर्माण गर्न सकिन्छ भन्ने हो’, उनले भने –‘विधान ंसंशोधनका लागि गठित कार्यदलले बन्दसत्रमा संशोधन गर्नुपर्ने बुँदाहरुसहित प्रस्ताव पेश गर्ने तयारी छ ।’
जसपा नेपालको चालु एकताको पहिलो महाधिवेशनको बन्दसत्रबाट यो प्रस्तावसामाजिक क्लष्टरतर्फ १४१ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन् । जसमा हरेक समूहबाट ३३ प्रतिशत महिला र ४० प्रतिशत युवाले स्थान पाउने छन् ।
केन्द्रीय समितिको संख्या थप गर्नेगरी विधान संशोधन प्रस्ताव पारित भएमा नयाँ संख्याअनुसार अब केन्द्रीय सदस्यमा निर्वाचित हुने महिला संख्या ३५ बाट वृद्धि भएर कम्तिमा ४६ पुग्ने छ । जसमा आदिवासी जनजाति महिला संख्या १० बाट वृद्धि भई १३ पुग्ने छ भने मधेसी महिला र दलित महिलामा ५ बाट वृद्धि भएर समान ७–७ पुग्ने छ ।
त्यस्तै खस क्षेत्री र ब्राह्मण समूहबाट ११ जनाबाट वृद्धि भई १५ संख्या पुग्नेछ भने मुस्लिम महिला संख्या २ बाट वृद्धि भएर ३ पुग्नेछ भने अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यक १ जना महिला केन्द्रीय समितिमा पुग्ने छन् ।
त्यसैगरी युवा तर्फ ४२ जना केन्द्रीय सदस्यबाट बढेर अब ५६ जना युवा केन्द्रीय समितिमा सदस्य हुन पाउने छन् । जसमा १२ बाट बढेर १६ जना आदिवासी जनजाति युवाका लागि केन्द्रीय समितिको ढोका खुल्ने छ भने मधेसी र दलित युवातर्फ ५ बाट वृद्धि भई ८–८ जना युवाले अवसर पाउने छन् ।
नयाँ प्रावधान अनुसार १३ बाट बढेर १७ जना खस क्षेत्री र ब्राह्मण समूहका युवाका लागि अवसर मिल्ने छ भने मुस्लिम युवातर्फ २ बाट बढेर ३ जनाका लागि अवसर प्राप्त हुनेछ । अपाङ्गता भएका व्यक्ति र अल्पसंख्यक १ जना युवा केन्द्रीय समितिमा पुग्ने छन् ।
जसपा नेपालको एकताको पहिलो महाधिवेशनमा १२ सय हाराहारी प्रतिनिधि रहेका छन् ।