adv

जसपा नेपालको बन्दसत्र सुरु हुँदै

२९ जेठ, जनकपुरधाम ।


जनता समाजवादी पार्टी नेपालको एकताको पहिलो महाधिवेशनको बन्दसत्र आज (मंगलबार) बिहान केही समयपछि सुरु हुँदैछ । आज सुरु बन्दशत्रले जसपा नेपालको आगामी राजनीतिक यात्राका लागि आवश्यक विभिन्न विषयहरुमा गम्भीर छलफल वहस गरेर निष्कर्षमा पुग्ने बताइएको छ ।

बन्दसत्रले पार्टीको विधान संशोधनका लागि गठित कार्यदलले पेश गर्ने प्रस्तावमाथि आवश्यक छलफल गरी पारित गर्ने कार्यसूची रहेको जसपा नेपाल केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले जानकारी दिएका छन् ।

त्यस्तै, बन्दसत्रमा पार्टीको ३१ पृष्ट लामो राजनीतिक प्रतिवेदन मस्यौदाका रूपमा पेश गरिने बताइएको छ । यसै सत्रमा जसपा नेपालका केन्द्रीय लेखा परीक्षण आयोगका प्रमुख अमरेश नारायण झाले पेश गर्ने लेखा परीक्षण प्रतिवेदन उपर आवश्यक छलफल गरी पारित गर्ने कार्य सूची रहेको छ ।

जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रस्थित सभाहलमा सम्पन्न हुने बन्दसत्रबाट अन्य विभिन्न समसामयिक प्रस्तावहरु पारित गर्ने बताइएको छ ।

बुधबार जेठ ३० गते भने जसपा नेपालको आगामी केन्द्रीय नेतृत्वका लागि निर्वाचनको कार्यक्रम तय हुने छ । ‘हामीले सकेसम्म सबै भावना समेटिन सक्ने गरी सर्वसम्मतिले नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने सोचेका छौं’, नेता चेम्जोङले भने ।

पार्टीले सोमबार जनकपुरधामस्थित तिरहुतीया गाछीको खुला प्राङ्गणमा हजारौँ पार्टी समर्थककाबीच एकताको पहिलो महाधिवेशन उद्घाटन गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु