सजन राई
९ असार, माङसेबुङ ।
“हप्ताको छ दिन आफ्नो लागि, बाँकी एक दिन समाजको लागि” भन्ने मूल नाराका साथ सुरु गरेको स्वतन्त्र सचेत नागरिक समूह माङसेबुङले प्रत्येक हप्ताको शनिवार श्रमदान अभियान सञ्चालन गरिरहेको छ ।
श्रमदान अन्तर्गत समूहले भेडेटार-रवि-राँके सडक खण्डको माङसेबुङ ६ स्थित पञ्चमी बजार देखि हस्टेसम्मको सडक मर्मत, अस्थायी नाली निर्माण, ढुङ्गाको सोलिङ गर्ने काम गरेको छ ।
दमक-पञ्चमी(फाल्गुनन्द) राजमार्ग कै बेथा बोकेको यस मार्ग पनि बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गर्दछ ।
एक्जिम बैंक अफ इन्डियाको तीन अर्ब ६५ करोड रुपैयाँ लागतमा स्तरोन्नतिका लागि भारतको एप्को इन्फाटेक कम्पनीसँग २०७५ सालमै सम्झौता भएको यो मार्ग २०७८ मंसिरसम्ममा दुवैतर्फ एक/एक मिटर नालीसहित नौ मिटर सडक कालोपत्रे गरिसक्नु पर्ने थियो ।
२०४६ सालमै ट्र्याक खुलेको यो १०१ किलोमिटर सडकले धनकुटाको भेडेटार हुँदै इलामको चिसोपानी पञ्चमी, पाँचथरको रवि देखि राँके जोड्दछ ।
अभियानमा यो हप्ता ४६ जनाको उपस्थिति रहेको समूहले जानकारी दिए ।
२०८० फागुन २४ गते माङसेबुङ ३ स्थित चतुरे बजारमा गठित सचेत समूहले २०८१ जेठ ५ गते शनिवार श्रम अभियान सुरु गरेको हो ।