१२ असार,दमक ।
वर्षासँगै पहिलो जाँदा देशभर चार जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको खबर छ ।
पहिरोले पुरिएर ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा बुधबार बिहान ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीका अनुसार पहिरामा परि देवकुमारीका श्रीमान् ३० वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते छन् ।
त्यस्तै, गएराति वर्षासँगै गएको पहिरोमा पुरिएर कास्कीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुत्यु हुनेमा कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीकी १३ वर्षीया आयुस्मा रानाभाट र पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको कास्की प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले दिएको जानकारी अनुसार मादी ५ चितेपानीमा रानाघाटसँगै पहिरोमा पुरिएकी ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको भने उद्धार गरिएको भो । त्यस्तै पोखरा २७ को घटनामा भने सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी र उनको उपचार भइरहेको बताइएको छ ।
लगातारको वर्षापछि गएराति नै गएको पहिरोमा पुरिँदा लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा ६० वर्षीय रूद्रमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी निरीक्षक थानेश्वर चपाइँले गुरुङको शव उद्धारका क्रममा भेटिएको हो भने अन्य ३६ वर्षीया पञ्चकुमारी गुरुङ, उनकी पाँच वर्षीया छोरी नम्रता र सात वर्षीया छोरी इच्छा गुरुङ अझै बेपत्ता रहेका र खोजी कार्य जारी छ ।
देशैभर मनसुन सक्रिय
विगतका तुलनामा मनसुन थप सक्रिय भएको जल तथा मौसम विज्ञान विभागको मौसम पू र्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद्हरुले देशको लुम्बिनी प्रदेश बाहेकका विभिन्न स्थानहरुमा भारी वर्षा हुने चेतावनी दिएका छन् ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको छ ।
बुधबार बिहानैदेखि परेको वर्षाका कारण प्रदेश १ को राजधानी बिराटनगर जलमग्न भएको छ । त्यस्तै अन्य प्रदेशहरुमा समेत बाढी, पहिरोको घटना भएका समाचारहरु प्राप्त भएका छन् ।
बिहानैदेखिको लगातारको वर्षाले दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर परेको बताइएको छ ।
देशभर बिहानैदेखि वर्षा गराउने बादल ठाउँ–ठाउँमा विकास भएकोले देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिएका छन् ।