खुलातर्फ ५० हजार र स्थानीयतर्फ १५ हजार पुरस्कार
१७ असार, दमक ।
‘स्वास्थ्य, भातृत्व र पर्यटन प्रवद्र्धनका लागि’ भन्दै झापाको दमकमा हुन लागेको खुला दौड प्रतियोगितामा देशैभरका धावकहरु सहभागी हुने भएका छन् । दौडमा पाँच सय भन्दा बढीले सहभागीता जनाउने अनुमान गरिएको छ ।
मानवहित संरक्षण मञ्च नेपालको आयोजना र प्रदेश १ को पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा असार २१ गते दौड प्रतियोगिता हुने सोमबार झापाको दमकमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको हो ।
पूर्व पश्चिम राजमार्गस्थित दमक ९ को भाटभटेनी सुपरमार्केटबाट सुरु हुने खुलातर्फ १० किलोमिटर दौड कमल गाउँपालिका ३ को शहीद गेटमा पूरा हुने बताएको छ । यसतर्फ देशैभरका कम्तिमा एक सय ५० जना धावक–धाविकाले सहभागिता जनाउने अनुमान आयोजकको छ ।
त्यस्तै, स्थानीयतर्फ सोही प्रस्थान विन्दुबाट कमल ५ को आदिवासी रंगशालामा दौड पूरा हुने छ । स्थानीय कम्तिमा दुई सय जनाले भाग लिने अयोजकको भनाइ छ । स्थानीय तर्फ दमक नगरपालिका र कमल गाउँपालिका घर भएका वा यी दुई पालिकाभित्रका विद्यालय र क्याम्पसमा अध्ययनरत भएको प्रमाण पुग्ने कागजात पेश गरेर प्रतियोगितामा भाग लिन सकिने छ । नेकपा माओवादी केन्द्रसम्बद्ध अखिल नेपाल खेलकुद महासंघ प्रतियोगिताको सह–आयोजक रहेको छ ।
दौड सफल बनाउन माओवादी केन्द्रका अतिरिक्त खेलकुदसँग सम्बन्धित अन्य राजनीतिक दलका प्रदेशस्तरीय संगठनहरुसँग सहकार्य हुनुपर्ने पत्रकार सम्मेलनका बीच माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले जोड दिएका थिए । ‘यो दौड प्रतियोगिता सम्पन्न गर्न माओवादी केन्द्रको मात्रै नभएर सबै खेलसँग सम्बन्धित सबै राजनीतिक दलका संगठनहरुसँग सहकार्य गर्न उपयुक्त हुन्छ भन्ने सुझाव दिन्छु’, तामाङले भने । उनले मौसमको प्रतिकूलतालाई अनुकूलतामा बदल्न सकिने भन्दै युवा र विद्यार्थीका लागि यतिबेलाको समय उपयुक्त भएको दावी गरे ।
दौड प्रतियोगिता सफल पार्न आवश्यक सबै किसिमका तयारी थालिएको माओवादी केन्द्रका झापा जिल्ला संयोजक राजु आचार्य (अग्नि)ले जानकारी दिए । ‘यो प्रतियोगिताको आयोजना मानवहित संरक्षणमञ्चले गर्ने भने पनि माओवादी केन्द्र र पार्टी निकट वाईसिएल र अन्य जनसंगठनहरुले पनि व्यवस्थापनमा सहयोग गर्ने हो’, आचार्यले भने ।
दौड प्रतियोगितालाई ध्यानमा राखेर सहभागी हुने सबै खेलाडीको बिमा गर्ने, प्रथमिक उपचारको व्यवस्था र स्थानीय विभिन्न अस्पतालहरुसँगको समन्वयमा उपचारको व्यवस्था मिलाउने, स्कर्टिङ र ट्राफिक व्यवस्थापन चुस्त राखिने आयोजक पक्षले दावी गरेको छ ।
खुलातर्फ दौड विजेता महिला–पुरुष दुवैले जनही ५० हजार नगदसहित पुरस्कार पाउने छन् । दोस्रो, तेस्रो र चौँथो प्रतियोगीहरुले क्रमशः नगद २५ हजार, १५ हजार र पाँच हजारसहित पुरस्कार पाउने छन् भने पाँचौ र छैठौँ स्थान प्राप्त गर्नेलाई क्रमशः तीन हजार र दुई हजारसहित पुरस्कृत गरिने आयोजक मञ्चकी खेलकुद संयोजक समुन्द्रा लामाले जानकारी दिइन् ।
त्यस्तै, स्थानीयतर्फ विजेता महिला–पुरुषले समान १५ हजार नगदसहित पुरस्कार प्राप्त गर्ने छन् भने दोस्रो, तेस्रो र चौँथो स्थान प्राप्त गर्नेहरुलाई क्रमशः १० हजार, पाँच हजार र दुई हजार नगदसहित पुरस्कृत गरिने बताइएको छ भने पाँचौ स्थान ओगट्नेलाई एक हजार नगदसहित पुरस्कृत गरिने छ ।
दौड प्रतियोगिताका इभेन्ट डाइरेक्टर वरिष्ठ एथ्लेटिक्स प्रशिक्षक लोकप्रसाद ओलीले असार २० गते साँझ ९ बजेसम्म प्रतियोगिताका लागि आवेदन गर्न सकिने जानकारी दिँदै ‘एक व्यक्ति, एक विधा’ को नियम लागू हुने बताए । ‘खुला दौडमा भाग लिएकाले स्थानीयतर्फ भाग लिन पाउँदैनन्, त्यस्तै स्थानीयमा आवेदन गरेपछि खुलातर्फ दौडन पाइन्न’, उनले भने । दुवै दौडको प्रस्थान विन्दु एकै ठाउँ भएकाले पाँच मिनेटको फरकमा दौड सुरु गरिने जानकारी दिए । ओलीले भने –‘दुरीको हिसाबले ५० हजार राशीको पुरस्कार राखिएको दौड प्रतियोगिता नेपालमा यो नै पहिलो हो कि भन्ने लाग्छ ।’
प्रतियोगिता आयोजक मानवहित संरक्षण मञ्चकी खेलकुद संयोजक समुन्द्रा लामाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा माओवादी केन्द्र दमक नगरका अध्यक्ष रवि बस्नेतको सञ्चालन रहेको थियो । कार्यक्रममा माओवादी केन्द्र र जनवर्गीय संगठनका विभिन्न तहका नेता कार्यकर्ता सहभागी थिए ।