१८ असार, काठमाडौँ ।
सोमबार मध्यरातमा चालु नेकपा माओवादी केन्द्र–नेकपा एमाले समीकरणको सरकार ढालेर दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले आलोपालो सत्ता सञ्चालन गर्नेगरी नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।
चालु सत्ता साझेदारी अन्त्य गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आलोपालो सरकार सञ्चालनको सहमति गरेका हुन् । दुई पार्टीका अध्यक्षबीच पहिले ओली र त्यसपछि देउवा प्रधानमन्त्री हुनेगरी लिखत सहमति भएको हो ।
यससँगै एमाले अध्यक्ष ओलीको उक्साहटमा लागेर भरपर्दो मित्र शक्ति जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन गराएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको राजनीतिक अवसान पक्का भएको छ । दाहाल अब सत्ताबाट लज्जास्पद ढङ्गले घोक्र्याइने छन् ।
ओली र देउवाबीच भएको लिखित सहमतिमा संघ सरकारमा एमाले र काँग्रेसले आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएसँगै प्रदेशमा भने प्रदेश नम्बर १, लुम्बिनी र कर्णाली एमालेको सरकार गठन हुने तय छ । त्यस्तै, कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिनेगरी दुई नेताले हस्ताक्षर गरेका छन् ।
यसै गरी निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा फेरबदल गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने गरी सहमति बनेको स्रोतले जनाएको छ ।
दुवै दलले संविधान संशोधनमार्फत समानुपातिक प्रतिनिधित्वमाथि प्रहार गर्ने गरी तयारी गरेका बुझिएको छ ।
पछिल्लो सहमतिसँगै हाल प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिने तय भएको छ । प्रधानमन्त्री दाहालले विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अनुसार नै सरकार आह्वानको परिस्थिति निर्माण हुने एमाले–काँग्रेस स्रोतको निष्कर्ष छ । दुवै दलका नेताले यस बारेमा निश्चित हुन सोमबार राति नै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए ।
एमाले–काँग्रेस सत्ता समीकरण बलियो र भरपर्दो हुनुपर्ने एमाले अध्यक्ष ओलीको चाहना अनुसार राति नै उनीहरु राष्ट्रपति निवास पुगेका स्रोतको भनाइ छ ।