२० असार, दमक ।
सत्ता समीकरण बदल्ने नयाँ अभ्यास थालनी भएसँगै प्रधामन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकार छाड्ने क्रम सुरु भएको छ । बुधबार साँझ नेकपा एमालेका एक उपम्रधानमन्त्रीसहित आठ जना मन्त्रीहरुले पदबाट राजिनामा गरेका थिए ।
दाहाल नेतृत्वको सरकार छाड्ने क्रमलाई बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निरन्तरता दिएको छ । रास्वपाबाट सभापति रवि लामिछानेसहित सरकारमा सहभागी मन्त्रीले आज बिहीबार राजीनामा दिँदैछन् ।
सभापति लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले केही बेरमै प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा दिने तयारी भएको रास्वपाले जनाएको छ । सभापति लामिछाने, अहिले बालुवाटार जांदैछन् ।
रास्वपाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमना श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ दाहाल नेतृत्वको सरकारमा सहभागी थिए ।
यस अघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेको सो कदमले दाहाल नेतृत्वको सरकारलाई अल्पमतमा पारिदिएको छ ।
नयाँ सत्ता साझेदारीको तयारीमा रहेका नेकपा एमाले र नेपाली काँग्रेसबीच भने दाहाललाई सहज बहिरगमनका लागि बिहिवारसम्म पर्खने रणनीतिमा छन् । स्रोतका अनुसार बिहीबार साँझसम्म दाहालले राजीनामा नगरे दुईतिहाई सांसदहरुको हस्ताक्षर संकलन गरेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बझाउने तयारीमा काँग्रेस–एमाले छन् ।
यस्तो अवस्थामा राष्ट्रपति पौडेलले दाहाललाई बर्खास्त गर्न सक्ने अनुमान गरिएको छ ।
नयाँ सत्ता समीकरणमा आधा–आधा कार्यकाल आलोपालो गर्नेगरी एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले लिखित सहमति गरिसकेका छन् । डेढ वर्षे आलोपालो सत्ता साझेदारीका लागि गरिएको लिखित सहमतिमा शासककीय स्वरूपलगायतमा संविधान संशोधन गर्ने सहमति भएको बताइएको छ ।
दाहाललाई सत्ताच्युत गरेर दुई तिहाई बहुमतका साथ एमाले अध्यक्ष ओलीको सत्तागमन निश्चित भइसकेको छ ।