adv

सडकले ठेक्का तोडेपछि बाटो मर्मत सम्भारमा जुट्दै माङसेबुङ गाउँपालिका

२१ असार, दमक ।


वर्षायामसँगै यातायात आवागमनमा समस्या हुन थालेपछि माङसेबुङ गाउँपालिकाले सडक मर्मत कार्यलाई तिव्रता दिएको छ । तराईसँग जोड्ने दमक–चिसोपानी (फाल्गुनन्द मार्ग) सडकलाई वर्षायाममा अवरुद्ध हुन नदिन गाउँपालिकाले बजेट नै व्यवस्थापन गरेर मर्मत सम्भारमा जुटेको हो ।

वर्षायामको भलले सडकमा खाल्डाखुल्डी पार्न थालेका मात्रै छैनन्, ड्रेनको अभावमा भल व्यवस्थापन हुन नसक्दा सडकको संरचनामै क्षति पुग्न थालेको छ । जसका कारण यातायातका साधन चल्न मुस्किल हुन थालेपछि पालिकाले यसतर्फ ध्यान दिएको हो । सडक अवरुद्ध हुन नदिन पालिकाले १५ लाख रूपैयाँ बिनियोजन गरेर मर्मत कार्य जारी राखेको छ ।

स्थानीय यातायात व्यवसायी, काठ व्यवसायी र अन्य व्यवसायीहरु समेतको सहयोगमा सडक मर्मत कार्यमा जोड दिइएको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष बिनोद नेम्बाङले जानकारी दिए । ‘सडकको ठेक्का तोडिएपछि वर्षायाममा यातायातका साधन चलाउनै मुस्किल हुने स्थिति सिर्जना भयो । माङसेबुङवासीका लागि अत्यावश्यक सडक सुविधालाई ध्यानमा राखेर हामीले सडक मर्मत सम्भार कार्य गरिरहेका छौँ’ उपाध्यक्ष नेम्बाङले भने ।

पालिकाको बजेटसँगै विभिन्न व्यवसायीहरुले करिब सात लाख रूपैयाँ संकलन गरेर वर्षाले बिगार्ने बाटो दैनिक मर्मत गर्ने, हिलो हुने ठाउँमा ग्राभेल गरेर सम्याउने आदि कार्य जारी राखिएको छ ।

माङसेबुङवासीका लागि तराईसँग जोड्ने मुख्य र छोटो दुरीको सडकलाई हिउँदो–बर्खा नै सञ्चालन गर्ने उद्देश्यले नियमित मर्मत सम्भारको काम जारी राखिएको माङसेबुङ गाउँपालिकाका प्रवक्ता सुसन राईको भनाइ छ । बेला बेला वर्षासँगै जाने पहिरो पन्छाउनु पर्ने र माङमालुङ क्षेत्र, चतुरे बजार खण्ड र लारुम्बा भन्दा माथिको भेगमा सडक मर्मत गरिरहनु परेको प्रवक्ता राईले बताए ।

दमक–चिसोपानी (फाल्गुनन्द मार्ग) सडक निर्माणको रेखदेख गर्ने कार्य भने गाउँपालिकाको होइन । यो कार्यको जिम्मेवारी सडक डिभिजन कार्यालय दमकलाई छ । तर, बिगत तीस वर्षदेखि अर्बौं रूपैयाँ खर्चिएर पनि संघ सरकार र प्रदेश सरकारले यो सडक पूर्वाधारको कम पूरा गर्न सकेको छैन ।

दमकदेखि माङसेबुङको ६ नम्बर वडा र पाँचथरको मिक्लाजुङ ५ नम्बर वडाको संगमस्थल पञ्चमी बजारसम्मको दुरी ३३ किलोमिटर हो ।

पछिल्लो पटक यस सडकको दोस्रो खण्ड १५ किलोमिटर सडक ५४ करोड ४४ लाख ८७ हजार रूपैयाँमा कालोपत्रे गर्ने गरी ठेक्का लागेको थियो । त्यस्तै, तेस्रो खण्ड ११ किलोमिटर सडक रु ५९ करोड १५ लाख ३५ हजार रूपैयाँमा कालोपत्रे गर्नेगरी ठेक्का लागको थियो । तर, निर्माणको ठेक्का पाएको लुम्बिनी–गणपति जेभीले पटक–पटक म्याद थप गर्दा समेत सडक निर्माण कार्य सम्पन्न नगरेको भन्दै सरकारले गत वर्षको माघमा ठेक्का तोडेको थियो ।

पहिलो खण्डअन्तर्गत दमकको पहिलो बिन्दुबाट सात किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का भने महालक्ष्मी–किरातेश्वर जेभीले पाएको छ । २२ करोड ५९ लाख ६४ हजार रूपैयाँमा ठेक्का लिएको किरातेश्वरले भने पाँच पटक भन्दा बढी म्याद थप्दै सुस्त गतिमा काम गरिरहेको छ ।

यो सडक निर्माण सम्पन्न हुँदा पाँचथरको तुम्बेवा र मिक्लाजुङ गाउँपालिका र इलामको माङसेबुङ गाउँपालिकाका जनतालाई प्रत्यक्ष लाभ पुग्ने देखिन्छ । साथै, दमकदेखि रवि, राँके हुँदै फिदिम र ताप्लेजुङ आवत–जावतका लागि पनि मेची राजमार्गको तुलनामा दुरी छोटो हुने हुन पुग्छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु