२१ असार, दमक ।
शुक्रबार बिहान दमकमा आयोजित खुला १० किलोमिटर सडक दौडको उपाधि क्रमशः पुरुषतर्फ बैतडीका नरेन्द्रसिंह रावल र महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले जितेका छन् । ३१ मिनेट ३० सकेण्डमा निर्धरित दुरी पार गरि सशस्त्र प्रहरी बलमा कार्यरत नरेन्द्रसिंहले उपाधि जित्दैगर्दा राज्यलक्ष्मीले ३९ मिनेट ४६ सेकेण्ड समय खर्चेर उपाधि चुमेकी हुन् ।
पुरुषतर्फ बझाङकै करण रावलले ३१ मिनेट ४६ सेकेण्डमा दुरी पूरा गरी दोस्रो भएका थिए । उनी पनि सशस्त्रमै कार्यरत छन् । प्रतियोगिताअन्तर्गत ओखलढुङ्गाका मिङमारसिंगी तामाङ (३२ मिनेट २० सेकेण्ड) तेश्रो, तेह्रथुमका विज्ञान लिम्बू (३३ मिनेट २४ सेकेण्ड) चौंथो, भारतका विवेक क्षेत्री (३३ मिनेट ५७ सेकेण्ड) पाँचौ र भोजपुरका पवन राई (३४ मिनेट ४२ सेकेण्ड) छैठौं बने ।
त्यस्तै, महिलातर्फ ४५ मिनेट १२ सेकेण्ड दुरी पार गरेकी भोजपुरकी बिनीता राई दोश्रो, ४५ मिनेट ५० सेकेण्डमा दौडेकी भोजपुरकै जुही राई तेश्रो, ४८ मिनेट ५० सेकेण्डमा दुरी पार गरेकी पाँचथरकी पुष्पा शेर्मा लिम्बू चौंथो, ४८ मिनेट ३४ सेकेण्डमा दौड पूरा गरेकी भोजपुरकी जुली राई पाँचौ र ५१ मिनेट ३३ सेकेण्डमा निर्धारित दुरी पार गरेकी इलामकी यमुना लिम्बू छैठौं भएका थिए ।
प्रतियोगिताकी संयोजक समुन्द्रा लामाका अनुसार पुरुष र महिलातर्फ प्रथम हुनेलाई नगद ५० हजार, दोस्रोलाई २५ हजार, तेस्रोलाई १५ हजार, चौंथोलाई पाँच हजार ,पाँचौलाई तीन हजार र छैठौंलाई दुई हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
खुलातर्फ दमक ९ को भाटभटेनी सुपर मार्केटदेखि कमल ३ को शहीद गेटसम्म १० किलोमिटर दुरी तय गरिएको थियो भने स्थानीयका लागि आयोजित सडक दौडका लागि भाटभटेनीदेखि कमलकै आदिवासी रंगाशालासम्मको पाँच किलोमिटर दुरी तय गरिएको थियो ।
स्थानीयतर्फ सिंह र राईले मारे बाजी
स्थानीयतर्फ पाँच किलोमिटर दौडमा पुरुषबाट सरोज सिंह प्रथमले बाजी मारे भने महिलाबाट सुनकला राईले उपाधि जितिन् ।
पुरुषबाट क्रमशः ओसन राई दोस्रो, पवनकुमार साह तेस्रो, सुमन भण्डारी चांैथो र केशव थापा पाँचौ स्थानमा रहन पुगे ।
महिलाबाट क्रमशः नुसा लिम्बू दोस्रो, समीक्षा परियार तेस्रो,अनुषा धिमाल चौंथो र मनिका मुर्मु पाँँचौ स्थानमा आए । स्थानीयतर्फका विजेताहरुलाई क्रमशः १५ हजार, १० हजार, पाँच हजार, दुई हजार र एक हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
मानवहित संरक्षण समाजका अध्यक्ष पदम घिमिरेको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन प्रदेश १ सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरु हरिवोल गजुरेल, इन्द्र आङ्बो मौसम, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगडलगायतको उपस्थिति रहेको थियो ।