उद्योगको बजारीकरणमा सहयोग गर्छौं : मुख्यमन्त्री कार्की
२२ असार, दमक ।
प्रदेश १ सरकारले १४ जिल्लाका महिला उद्यमीहरुलाई पुरस्कृत गरेको छ । प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले शनिबार बिराटनगरमा उद्यमी महिलाहरुलाई पुरस्कृत गरेको हो ।
मन्त्रालयको आयोजनामा शनिबार विराटनगरमा आयोजित प्रदेश उत्कृष्ट महिला उद्यमी/ महिला लघु उद्यमी पुरस्कार वितरण कार्यक्रममा झापा दमककी उद्यमी भूमिकादेवी दाहाल (पोखरेल) पत्येक जिल्लाबाट एक-एक महिला उद्यमीहरु पुरस्कृत भएका हुन् ।
पुरस्कृत हुने अन्यमा सोलुखुम्बुबाट पासाङ ल्याह्मु तामाङ, मोरङबाट सरस्वती सुब्बा, सुनसरीबाट निर्मला खतिवडा ढुङ्गेल, उदपुरबाट हेमकुमारी सार्की र संखुवासभाबाट मनकला राई रहेका छन् ।
त्यस्तै पुरस्कृत हुने अन्यमा बिमला केरुङ तेह्रथम, रामकुमारी बस्नेत ओखलढुङ्गा, निर्मला श्रेष्ठ भोजपुर, लक्की सुजी पाँचथर, सानुमाया लिम्बू ताप्लेजुङ्ग, डोरश्वरी राई धनकुटा, उषा खत्री (बस्नेत) खोटाङ्ग र रमिला राई इलाम रहेका छन् । पुरस्कृतहरुलाई प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनही ५० हजार नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।
पुरस्कार वितरण समारोहपछि बोल्दै प्रदेशका मुख्यमन्त्री कार्कीले आगामी तीन वर्षभित्र प्रदेश संरचना जनताले अनुभूति गर्ने किसिमको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उनले प्रदेशमा उद्योग सञ्चालन गर्न चाहने उद्यमीहरुलाई एक ठाउँबाट सम्पूर्ण सेवा एवम् सुविधा उपलव्ध गराई झन्झटबाट मुक्त गराइने दावी गर्दै सञ्चालनमा रहेका घरेलु तथा लघु उद्योगहरुको औद्योगिकीकरण, विस्तार र वजारीकरणमा आवश्यक सहयोग प्रदान गर्ने बताए ।
पुरस्कृत उद्यमीहरुमा कागज, ढाका तान, मौरीपालन कृषि तथा पशुपंक्षी फर्म, हिमाली घरेलु उद्योग, पशुपालन, व्यूटी पार्लर, सिलाई कटाई तालिम, सूचना प्रविधि इन्स्टिच्युट र सीपमूलक तालिम केन्द्र आदि रहेका छन् ।