२३ असार, दमक ।
अविरल वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ । पानीको बहाव बढेपछि नेपालबाट भारततर्फ बन्द गरिएका ५६ वटै ब्यारेजका ढोका खुला गरिएको हो ।
आइतबार बिहान ९ बजेको पानीको बहाव मापनपछि भारतीय नियन्त्रणमा रहेको ब्यारेजका सबै ढोका खुला गरेर पानी भारततर्फ कटाइएको हो ।
आइतबार बिहान ९ बजे गरिएको पानीको बहाव मापनअनुसार सप्तकोशीमा यस वर्षकै अत्यधिक अर्थात ३ लाख ६८ हजार क्युसेक पानी मापन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ढोका खोल्न लगाइएको जिप्रका सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।
सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको प्रहरीको भनाइ छ ।