२३ असार, काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको हित र राजनीतिक स्थयित्वका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
आइतबार बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले भने –‘संविधान जारी भएपछि अहिलेसम्म देखिएको समस्याहरू ध्यानमा राखेका छौँ । ती समस्या हल गर्ने गरी संविधान संशोधन गर्ने भनिएको हो ।’ संविधान संशोधनमार्फत मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने प्रयास पश्चगमन नहुने उनको तर्क थियो ।
‘देशलाई स्थायित्वको दिशामा लैजान ठूला दलहरू सहितको राष्ट्रिय सरकार बनाउँदै छौँ । यो सरकारमा सबैले सहभागी हुनुपर्छ, ओलीले भने ।
संसद् भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाली काँग्रेसको समर्थनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमतिको अनुमोदन गरेको बताइएको छ ।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई असार २८ गतेभित्र राजीनामा दिएर मार्ग प्रसस्त गर्न भनेको छ ।
अल्पमतमा परेको सरकारले विभिन्न निर्णयहरू गरिरहेको भन्दै एमालेले त्यस्ता निर्णयहरू तत्काल रोक्न माग गरेको छ ।
एमाले प्रतिपक्षी सिटमा
यसैबीच आइतबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ ।
गत असार १७ गतेदेखि नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको एमाले आज आइतबार बसेको प्रतिनिधि सभा प्रतिपक्षी दलको बेन्चमा बसेको हो ।
यसअघि असार १७ गते बसेको प्रतिनिधि सभा बैठकमा एमाले सत्तापक्षको सिटमा बसेको थियो ।
दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको र मन्त्रीहरुसमेत फिर्ता बोलाइएको हुनाले आफूहरु प्रतिपक्षमा बसेको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।