२५ असार, दमक ।
३२ वर्षदेखि भुटानी जेलमा थुनिएका एक जना राजबन्दी तनि दिन अघि झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा आइपुगेका छन् ।
राजनीतिक बन्दीका रूपमा भुटानमा ३१ वर्ष १० महिना जेल जीवन भोगेर मुक्त भएका रामबहादुर राई रिहा भएर बेलडाँगी शरणार्थी शिविर आइपुगेका हुन् । उनलाई राजधानी थिम्पुको चेम्गाङ केन्द्रीय कारागारमा कैद गरिएको थियो । भूटान सरकारले राईलाई गत शुक्रबार रिहा गरेलगत्तै रातौँरात भारत–भुटान सीमाको भारतीय भूमि जयगाउँ ल्याएर छाडेको बताइएको छ ।
भुटानी राजनीतिकबन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जिसिआरपिपिबी)का संयोजक राम कार्कीलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाए अनुसार राई रिहा भएर आइतबार भूटानी शरणार्थी शिविर बेलडाँगी आइपुगेका हुन् ।
६६ वर्षीय राई पहिले बेलडाँगी–१ सेक्टर सी मा भुटानी शरणार्थीको रूपमा बस्दै आएका थिए । सन् १९९२ मा भुटान गएर राजनीतिक पर्चा बाँड्दै गरेकाबेला उनी पक्राउ परेका थिए । राईलाई देशद्रोहीको संज्ञा दिँदै राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत जेल सजाय भएको थियो ।
शुक्रबार जेलमुक्त बनेका उनले भुटानमा आफन्त र साथीहरूलाई भेट्न कम्तीमा एक साता बस्न अनुमति मागेका थिए । तर, भुटान सरकारले राईको यो अनुरोध स्वीकार नगरेको र भुटानका प्रहरीले राति ११ बजे सीमावर्ती छिमेकी भारतीय सहर जयगाउँमा ल्याएर छाडेको बताइएको छ । भारतीय नागरिक राजु मगरको सहयोगमा उनी जयगाउँबाट नेपाल–भारत सीमा नाका पानीट्यांकी आउका थिए ।
नेपालतर्फ आउँदा भारतीय प्रहरीले कागजात नभएको भन्दै उनलाई नेपाल प्रवेश गर्न रोकेका थिए । तर, बेलडाँगीबाट उनलाई लिन गएका उनका ज्वाइँको प्रयासमा भविष्यमा भारत जान नपाउने सर्तमा नेपाल प्रवेश गर्न दिएको बताइएको छ ।
हाल उनी बेलडाँगीस्थित शिविरमा छोरी गंगा र उनको परिवारसँग बसेका छन् । उनकी श्रीमती लक्ष्मीमाया राईको २०६६ सालमा निधन भइसकेको छ ।
राजनीतिक कारणले पक्राउ गरिएका राई जस्तै अन्य ३४ जना राजबन्दी भुटानका विभिन्न जेलमा भएको बताइएको छ । तीमध्ये अधिकांश नेपालीभाषी छन् ।
सन् १९९० को दशकमा भुटानमा मानव अधिकार र प्रजातन्त्रका लागि शान्तिपूर्ण आन्दोलनमा सरकारले क्रूरतापूर्वक दमन गरेर एक लाखभन्दा बढी नागरिकलाई देशबाट निस्कासन गरेको थियो । दमनका क्रममा राजनीतिक कार्यकर्ता र मानव अधिकारकर्मी पक्राउ परेका थिए ।