२५ असार, दमक ।

यस वर्षको मनसुन भित्रिएसँगै अत्यधिक वर्षाका कारण उत्पन्न बाढी, पहिरो लगायतका विपद्मा परेर ८० जनाले ज्यान गुमाएका छन् । विपद्मा परि बेपत्ता भउका पाँच जनाको अवस्था अझै अज्ञात रहेको छ ।
नेपालमा मनसुन भित्रिएको जेठ २८ गतेदेखि यता बाढी, पहिरोमा परेर मृत्यु हुनेको संख्या ८० पुगेको र पाँच जना अझै बेपत्ता रहेका गृह मन्त्रालयले जानकारी दिएको हो ।
गृहका अनुसार विपद्का कारण असार २५ गतेसाँझसम्म ९७ जना घाइते भएका छन् भने दुई हजार सात सय ६४ घरपरिवार विस्थापित भएका छन् । त्यस्तै एक सय ६१ घर बाढी पसेर डुबानमा परेका छन् भने एक सय ३८ वटा घर, ५४ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको तथ्याङ्क छ । बाढी पहिरोका कारण तीन सय ८४ वटा पशु चौपाया मरेको गृहको अभिलेखमा छ ।
यसैबीच, मनसुन अवधिभर कार्यक्षेत्र नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिइएको छ । गृह मन्त्रालयको पत्रका आधारमा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको हो ।
वर्षायामको समयमा फैलिन सक्ने महामारी, मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख प्रशासकीय अधिकृतहरूले स्थानीय तह नछोड्ने व्यवस्थाका लागि गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।