मंसिर १८, काठमाडौं । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचन सकिएसँगै सबै नतिजा सार्वजनिक भएकोछ ।
निर्वाचन आयोगका मत परिणाम अनुसार कांग्रेसले एक प्रमुख सहित १६ वडाध्यक्षमा जित हासिल गरेको छ । एमाले एक गाउँपालिकाअध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपप्रमुख सहित सात वटा वडामा जित हासिल गरेको छ ।
उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक/एक स्थानमा विजयी हुँदाएक स्वतन्त्र उम्मेदवार पनि वडाध्यक्षमा निर्वाचित भएको छ ।
दुई जिल्ला समन्वय समितिका प्रमुख र एउटा वडा अध्यक्ष पद यसअघि नै निर्विरोध भए पछि आइतबार ४१ पदका लागि मतदान भएको थियो ।
उपनिर्वाचनमा उम्मेदवारी दर्ताको प्रक्रियामै ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । यसअघि ती दुवै पद कांग्रेसले नै जितेको थियो ।
पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका थिए ।
आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथावडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जनागरी जम्मा तीन सय ७६ उम्मेदवार थिए ।