फागुन १८, दमक । लिम्बू भाषाको चलचित्र ‘चे‘ अर्थात ‘लास‘ फागुन २६ मा दमकमा प्रदर्शन हुने भएको छ । माङ्गेन्ना पब्लिकेशन एण्ड मिडिया प्रा.लि. र लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकले शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र प्रदर्शनको जानकारी दिए। चलचित्र दमकस्थित डिम्याक्स सिनेमा हलमा विशेष प्रदर्शनी हुने आयोजक समितिले जानकारी दिए ।
बिहान ९ बजे र ११:३० बजेको सो रहेको साथै दर्शकको चाप र माग अनुसार दिउसो २ बजेको सो थप्न सकिने समेत आयोजकले बताए ।
चलचित्र निर्माता, लेखक तथा निर्देशक सागर केरुङले आधुनिक विकासका नाममा याक्थुङ आदिवासीहरुको चे (लास) समाधि गर्नेस्थल नासिएको विषयलाई साँस्कृतिक गाम्भिर्यताका साथ चलचित्रमा उतारिएको बताए । उनले चलचित्र आधुनिकताका नाममा सांस्कृतिक सम्पदा मास्ने र जोगाउने बीचको द्वन्दात्मक कथाका रुपमा रहेको प्रष्ट्याए ।
कार्यक्रममा मुन्धुमी गायक ब्रबिम सेर्मा, निर्देशक लोकेन साँवा, बरिष्ठ कलाकार राज काउछा मगर, कियाचु लिम्बुवान प्रदेश सचिव साङसेन पन्धाक, कियाचु झापा अध्यक्ष सेसेहाङ फियाक, नगर अध्यक्ष देवेन्द्र चेम्जोङ, याक्थुङ मुन्चइत सयङ लिम्बुवान प्रदेश अध्यक्ष भुपेन्द्र तुम्बाहाङफे, कलाकार प्रमिता फियाक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम लिम्बू भाषा साहित्य प्रतिष्ठानका कुलपति सेसेमी से नाल्बोको अध्यक्षता भएको थियो भने कार्यक्रमको सञ्चालन कियाचु प्रदेश सदस्य दिलकुमार लावतीले गरेका थिए ।