फागुन १७, दमक । प्रथम माटाडोर ब्रोदर्स फुटसल प्रतियोगिता २०८१ को उपाधि यति एफसि धरानले जितेको छ । दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसल पिचमा शनिबार सम्पन्न फाइनल खेलमा रणभूमि फुटसल दमकलाई २–० गोल अन्तरले पराजित गर्दै यति च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलिले पाएको अवसर सदुपयोग गर्न नसक्दा गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६औं मिनेटमा यतिका सुसान्त राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ११औं मिनेटमा इचिके राईको सशक्त प्रहार गोलमा परिणत हुँदा यतिले २ गोलको अग्रता बनायो । बाँकी समयमा दुवै टोलिबाट कुनै पनि गोल हुन सकेन ।
यतिले सेमिफाइनल खेलमा दमकका रियल स्टारलाई ३ का विरुद्ध ७ गोल गर्दै फाइनल प्रवेश गरेको थियो भने रणभूमिले दमकका सेरिनिटि रिहाबिलिटेसनलाई ३–१ गोल अन्तरले हराउदै उपाधि भिडन्त पक्का गरेको थियो ।
प्रतियोगिताको विजेताले नगद ७५ हजार पाँच सय ७५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद ३५ हजार पाँच सय ३५ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।
फाइनल खेलको म्यान अफ द म्याच यतिका दिपेन्द्र बस्नेत चुनिए । प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी यतिका इचिके राई हुँदा उत्कृष्ट गोलकिपर रणभूमिका गुञ्जन मगर घोषित भए । त्यसैगरि प्रतियोगिता भरि ७ गोल गरेका सेरेनिटिका विपिन श्रेष्ठले हाई स्कोररको उपाधि हात पारे ।
उक्त कार्यक्रममा आयोजक माटाडोर ब्रोदर्स एफसिले दमकका म्याराथुन धावक सरोज सिंहलाई सम्मान गरेको थियो ।
प्रतियोगिता फागुन १६ र १७ गते दुई दिन सञ्चालन भएको थियो ।