झापा । आयोजक काकडभिट्टा टे«निङ सेन्टर पाँचौ मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको उद्घाटन खेलमा काकडभिट्टाले भारतीय टोली जर्जियन एफसीलाई ४–२ ले हरायो ।
काकडभिट्टाको जितमा निशान लिम्बूले दुई गोल गर्दा इब्राहिम र रोबर्टले समान एक गोल गरेका थिए । जर्जियनको लागि सत्यम शर्माले दुबै गोल गरेका हुन् । निशान नै खेलको प्लेयर अफ दि म्याच भए ।
अब, सेमिफाइनलमा आयोजक काकडभिट्टाले उज्वेकिस्तानको ब्लाक बुल्स एफसी र धरान एफसीबीचको विजेतासँग फागुन २८ गते प्रतिस्पर्धा गर्नेछ । आइतबार हुने दोस्रो खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता चर्च ब्वाइज युनाइटेडले नेपाल सुपर लिग (एनएसएल)को टोली झापा एफसीसँग खेल्नेछ ।
काकडभिट्टा ट्रेनिङ सेन्टरको खेल मैदानमा अग्रता भने पाहुना टोली जर्जियन एफसीले बनायो । खेलको ३८औं मिनेटमा जर्जियनको लागि सत्यम शर्माले गरेका थिए । बक्स बाहिरबाट सत्यमले प्रहार गरेको फ्रिकिकलाई गोलकिपर विश्वास चौधरीले रोक्नै सकेनन् ।
निशान लिम्बूले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल गरे । बक्स भित्र काकडभिट्टाका प्रवेश रोयले विदेशी खेलाडी इब्राहिमलाई लडाएपछि रेफ्री विश्वास कार्कीले आयोजकलाई पेनाल्टी अवसर दिए । निशानले गोलकिपर सचिन सुब्बालाई कुनै मौका नै दिएनन् ।
आयोजकले दोस्रो गोल खेलको ५१औं मिनेटमा गर्याे । बक्सभित्र अनमार्क रहेका इब्राहिमले हेडर गोल गरेका थिए । खेलको तेस्रो गोल ६१औं मिनेटमा भयो । बक्स बाहिर पाएको बललाई अगाडि बढाउँदै निशानले सहज गोल गरेका हुन् ।
चौथो गोल खेलको ६६औं मिनेटमा भयो । निरन्तर भ्रमणकारी टोलीविरुद्ध दबाब बनाएको काकडभिट्टाको लागि रोबर्टले चौथो गोल गरेका हुन् । उनले बक्सभित्रबाट हानेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो । जर्जियमको लागि सत्यमले बक्स बाहिरबाट हानेको सानदार प्रहार सिधै गोल भएको थियो ।
झापा जिल्ला फुटबल संघ र मेचीनगर खेकुद विकास समितिको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेताले १० तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
होटल मेची क्राउन मुख्य प्रायोजक रहेको प्रतियोगिताका सर्वोकृष्ट खेलाडीलाई ५१ हजार, उच्च गोलकर्तालाई २५ हजार तथा उत्कृष्ट गोलकिपर र प्रशिक्षकलाई समान २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ११ हजार रुपैयाँ पाउनेछन् ।
सोमबार हुने खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र धरान एफसी भिड्ने छन् । फागुन २७ मा मछिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
यसअघि प्रतियोगिताको उद्घाटन सांसद गोपाल तामाङले गरेका थिए । यस्तै, समापन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमूख अतिथिका रुपमा उपस्थित हुनेछन् ।