झापा । झापा एफसीलाई सेडनडेथमा हराउँदै चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार मेचीनगरस्थित काकडभिट्टा खेल मैदान निर्धारित समयको खेल र पेनाल्टी समेत बराबरी हुँदा खेल सडनडेथमा पुगेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भयो । दोस्रो हाफमा दुबै टोलीले समान एक गोल गरेपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको हो ।
पेनाल्टीमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापा नायक बने । प्लेयर अफ दि म्याच घोषित उनले झापाका धिरेन्द्र विष्टको प्रहार रोकेका थिए । नेपाल सुपर लिग (एनएसएल) टोली झापाका अभिषेक स्याङ्ताङको प्रहार बाहिरिएको थियो । झापाको लागि रोशन पहारी, प्रवित बस्नेत, बाफोर र गौरब धिमालले गोल गरेका थिए ।
सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजको जितमा राजेश परियार, जया गुरुङ, कुमार गुरुङ, विदेशी खेलाडी अबयुमी फाकुन्ले र टिकेन्द्रले गोल गरेका हुन् । सुरज जिउ ठकुरीको प्रहार भने झापाका गोलकिपर कृशल मोक्तानले बचाएका थिए ।
अब, चर्च ब्वाइजले फाइनल प्रवेशका लागि विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लब र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग फागुन २९ गते खेल्नेछ ।
सोमबारको खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा आयोजक काकडभिट्टासँग खेल्नेछ । शनिबार भएको उद्घाटन खेलमा काकडभिट्टा ट्रेनिङ सेन्टरले भारतको जर्जियन एफसीलाई ४–२ ले हराएको थियो ।
मेचीनगर मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुबै गोल दोस्रो हाफमा भएका थिए । चर्च ब्वाइजको लागि ६९औं मिनेटमा रिचार्ड विल्सनले गोल गरेका थिए । झापाका रक्षक सर्ज डिकाले गरेको गल्तीको फाइदा उठाउँदै रिचार्डले गोल गरेका हुन् । त्यसअघि अबोयुमी फाकुन्लेले गरेको क्रस डिकाले क्लियर गर्न नसक्दा रिचार्डले बक्सभित्र बल नियन्त्रणमा राख्दै गोल गरेका थिए ।
खेल सकिन एक मिनेटअघि झापा एफसीले बराबरी गोल गर्याे । झापाको लागि कप्तान श्याम मुर्मुले गोल गरेका थिए । बक्सभित्र हुलमुलमा मुर्मले गोल गरेका हुन् । यसअघि मुर्मु कप्तान आर्यन राईको स्थानमा मैदान प्रवेश गरेका थिए ।