चैत २६, दमक । दमक ८ मा रहेको अनाथ बाल–बृद्धाश्रमका बालबालिकाहरुलाई अन्जिला फिल्म देखाइएको छ । नेपाली महिलाराष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला सुब्बाको जीवनीमा आधारित फिल्मलाई सोमबार विशेष सो गरी दमकको डिम्याक्स हलमा देखाइएको थियो ।
मिक्लाजुङ गाउँपालिकाका फुटबल कोच तथा कार्यक्रम संयोजक छत्रहाङ लावतीको अगुवाईमा त्रिपालिका स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता सम्पन्न गरी जम्मा रकमबाट अनाथ बच्चाहरुलाई फिल्म देखाइएको हो । उक्त अभियानमा पाँचथरको मिक्लाजुङ रफाल्गुनन्द गाउँपालिका र इलामको माङसेबुङ गाउँपालिकाको प्रत्यक्ष सहभागिता र सहयोग रहेको थियो ।
जम्मा ४२ जनालाई फिल्म हेराउन सफल भएको आयोजक मिक्लाजुङ भेट्रान्स क्लबका अध्यक्ष बाल कुमार लावतीले जानकारी दिए ।जस्मा आश्रमको तर्फबाट सञ्चालक समिति सदस्य राजेन्द्र पौडेल, हल सञ्चालक रेवत बस्नेत, विधार्थी नेता तथा युवा व्यवसायी जितेन साङपाङ लगायतको सहकार्य रहेको थियो ।
संयोजकका अनुसार एन्जिला तुम्बापो फाउण्डेसनका लागि त्रिपालिका स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता गरेको हो । जस अन्तर्गत संकलित रकमलाई फिल्मको सहयोगार्थ खर्च गर्ने निर्णय भएको थियो । फिल्म आफैमा प्रेरणाको स्रोत भएकोले बालबालिकाहरुमा प्रगतिको सकारात्मक विचार प्रवाह होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना भएको संयोजक छत्रहाङ भन्छन् ।