माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको अनुसन्धान, अवलोकन भ्रमण अन्तर्गतको पदयात्रा समापन भएको छ ।
गाउँपालिका भित्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको अनुसन्धानमूलक लेख प्रकाशन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम धार्मिक क्षेत्र गजुरमुखी धाममा पुगेर ३० गते सकिएको थियो ।
आयोजक बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष राम योङहाङको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पदयात्रा कार्यक्रमले माङसेबुङको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । गाउँपालिकाको समग्र क्षेत्रको विकासका लागि पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै राईले पर्यटनपदयात्रा मार्फत समेत माङसेबुङको पर्यटन प्रवर्द्धनमा योगदान पुगेको उल्लेख गरे ।
उनले गाउँपालिकाको धार्मिक, पर्यटकीय क्षेत्रहरूको पहिचान गर्दै पर्यटकहरूलाई भित्र्याउने लक्ष्यका साथ गाउँपालिका अगाडि बढेको बताए ।
११ जना पत्रकारहरुको सहभागिता रहेको पदयात्राका क्रममा माङसेबुङ गाउँपालिकाभित्र रहेका १८ वटा पर्यटकीय, धार्मिक तथाऐतिहासिक क्षेत्रको भ्रमण एवम् अवलोकन गरिएको थियो । माङसेबुङ गाउँपालिका–४ स्थित अन्धराजाअन्धरानी क्षेत्रबाट सुरु भएको सात दिने पदयात्रा गजुरमुखी धाममा पुगेर समापन भएको थियो ।
कार्यक्रम अन्तरर्गत वडा नम्बर ४ को अन्धराजा अन्धरानी क्षेत्र, ५ को लारुम्बा, ३ को उत्तरे, फुलुङ्गी र गीद्धेभीर, २ र ६ मा रहेकोमाङमालुङ र विजुवानी, वडा ६ को तीनथुम्की डाँडा, विराटज्योति माङहाङ, पारुहाङ साकेला पार्क, वडा नम्बर २ को चमेरे गुफा, चुक्चीनाम्बा, अगौटेबारी, चारसुरे डाँडा, शहिद रत्नकुमार वान्तवा सहादतस्थल र वडा नम्बर १ को नावालुङ, सर्वशान्ति बुद्ध विहार, घोर्लेभीर सहित गजुरमुखी धाम को भ्रमण एवम् अवलोकन गरिएको थियो ।
वैशाख २४ गतेबाट सुरु भएको पदयात्राका क्रममा भ्रमण र अवलोकन गरिएको १८ स्थान र अर्को एकसहित १९ वटा क्षेत्रको बारेमा खोजमूलक सामग्री तयार गर्न पदयात्रामा सहभागी पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गरिएको कार्यक्रम संयोजक कमन देवानले जानकारी दिए ।



