माङसेबुङ । इलामको माङसेबुङ–६ मा बुधबारबाट सुरु भएको टोल स्तरीय पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाँझो ६ विजयी भएको छ । साबिक वडाहरुलाई मिलाएर बनाइएको टोल स्तरीय प्रतियोगिता पहिलो खेलमा बाँझो ६ ले बाँझो ५ लाई ३–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेको छ ।
साबिक बाँझो ६ को टिम
उद्घाटन खेलको पहिलो हाफको ७औं मिनेटमा बाँझो ६ का कुमार राई गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको बाँझो ६ ले दोस्रो हाफको १३औं मिनेटमा मन कुमार राईको गोलबाट अग्रता दोब्बर बनायो । खेलको १६औं मिनेटमा मन कुमारले दोस्रो गोल गर्दै अग्रता तेब्बर बनायो । २६औं मिनेटमा पहिलो गोल र ईन्जुरी समयमा फ्रिकिक मार्फत दोस्रो गोल गर्दै बाँझो ५ को मौसम राईले अग्रता कम गरे पनि खेलमा फर्कन सकेन ।
साबिक बाँझो ५ को टिम
प्रतियोगिता अन्तर्गत हुने भनिएको ३० वर्ष माथिको महिलाहरुको लुङ्गी फुटबल खेलमा भने बाँझो ४ सहभागी नहुदा बाँझो ६ लाई विजेता घोषणा गरिएको समितिका सचिव ध्रुव कोयु राईले जानकारी दिए ।
प्रतियोगितामा महिला तथा पुरुष फुटबल सहित भेट्रान्स फुटबल र ३० वर्ष माथिका महिलाहरुको लागि लुङ्गी फुटबल खेल हुनेछ ।
समितिका अध्यक्ष रुपेश राईको अध्यक्षतामा भएको उद्घाटन खेल माङसेबुङ ६ वडा अध्यक्ष प्रदिप साङपाङ राई, माङसेबुङ ६ वडा सदस्य खगेन्द्र खड्का, अतिथिहरु सशस्त्र प्रहरी चिसोपानीका प्रमुख, साकफारा प्रहरी चौकी पञ्चमीको प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
माङसेबुङ ६ स्थित हस्टेमा रहेको पारुहाङ खेल मैदानमा सञ्चालित प्रतियोगिता माङसेबुङ ६ को सहयोग तथा माङसेबुङ ६ टोल स्तरीय युवा तथा खेलकुद समितिको आयोजनामा भइरहेको छ ।
प्रतियोगिताको महिला तथा पुरुष फुटबलको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् भने भेट्रान्सतर्फ विजेताको १० हजार र उपविजेताको ५ हजार नगद सहित उपाधि पाउनेछन् । त्यसैगरी लुङगी तर्फको विजेता र उपविजेताको पुरस्कार क्रमशः ५ हजार र २ हजार ५ सय रुपैयाँ सहित ट्रफि रहेको छ ।
बिहीबार हुने दोस्रो दिनको खेलहरुमा पहिलो खेल पुरुष फुटबल बाँझो ३ (क) र बाँझो ४ (क) बिच हुनेछ भने दोस्रो खेल बाँझो ६(ख) र बाँझो ३(ख), तेस्रो खेल महिला फुटबलतर्फ बाँझो ३ र बाँझो ५, चौथो खेल पुरुष भेट्रान बाँझो ६ र बाँझो ३ साथै पाँचौ खेल बाँझो ५ र बाँझो ४ बिच हुनेछ ।