माङसेबुङ । टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधिमा साबिक बाझो ६ हावी भएको छ । इलामको माङसेबुङ–६ भित्रका साबिक वडाहरुलाई मिलाएर बनाइएको टोल स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत सञ्चालित ४ वटा विधाका सबै उपाधि बाझो ६ ले जितेको हो ।
माङसेबुङ ६ हस्टे स्थित पारुहाङ खेल मैदानमा सम्पन्न पुरुष फुटबलको फाइनल खेलमा मन कुमार राईले गरेको दुई गोलको मद्दतले २–० गोल अन्तरमा बाझो ३ लाई हराउदै साबिक विजेता बाझो ६ लगातार च्याम्पियन बन्यो । प्रतियोगिता अन्तर्गत भएको महिला फुटबलको फाइनल खेलमा बाझो ६ ले बाझो ५ लाई शून्यका विरुद्ध ३ गोल गर्दै विजेता बन्न सफल भयो । विजेता टिमको लागि कमला राईले ह्याट्रिक गरिन ।
त्यसै गरी महिला लुङ्गी फुटबलमा बाझो ३ लाई पराजित गर्दै बाझो ६ ले उपाधि हात पार्यो । विजेता टिमको लागि सम्झना राई र ऐश्वर्य राईले एक/एक गोलको योगदान दिए । यसका साथै पुरुष भेट्रान फुटबलको उपाधि समेत बाझो ६ ले जितेको छ । प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा १/१ गोलको बराबरी पछि खेल टाइब्रेकर तर्फ धकेलिएको थियो । टाईब्रेकरमा बाझो ३ लाई ४–३ गोल अन्तरले पाखा लगाउदै बाझो ६ उपाधि जित्न सफल भयो ।
जेठ २२ गते देखि २५ गते सम्म सञ्चालित प्रतियोगितामा महिला तथा पुरुष विधाका फुटबल सहित पुरुष भेट्रान्स फुटबल र ३० वर्षमाथिका महिलाहरुको लागि लुङ्गी फुटबल खेल भएको थियो ।
गत संस्करणमा समेत ४ वटा विधामा नै फाइनल पुगेको बाझो ६ पुरुष फुटबल र भेट्रान फुटबल तर्फ लगातार विजेता बन्न सफल भयोभने महिला फुटबल र लुङ्गी फुटबलमा गत वर्ष उपविजेता बनेको थियो ।
राष्ट्रको लागि खेलकुद, स्वस्थको लागि खेलकुद भन्ने मूल नाराका साथ प्रत्येक वर्ष आयोजना भइरहेको प्रतियोगिताको महिला तथापुरुष फुटबलको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद सहित ट्रफि प्राप्त गर्यो भने भेट्रान्स तर्फ र लुङगी तर्फको विजेताले २० हजार र उपविजेताले १० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र उपाधि हात पार्यो ।
माङसेबुङ ६ को सहयोग तथा माङसेबुङ ६ टोल स्तरीय युवा तथा खेलकुद समितिको आयोजनामा भएको प्रतियोगितामा भेट्रान्स तर्फको फाइनल खेल जेठ २४ गते सम्पन्न भएको थियो भने अन्य विधाका फाइनल खेलहरु जेठ २५ गते भएको थियो ।




