विर्तामोड । नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार क्रियाशील पत्रकार अम्बिका भण्डारीलाई प्रदान गरिएको छ ।
आइतबार नारी सञ्चार गृह झापाले बिर्तामोडमा आयोजना गरेको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमका बीचपत्रकार भण्डारीलाई सम्मानपत्रसहित नगद १ लाख १ हजार १ सय राशीको सो पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत भण्डारी झापाली महिला पत्रकारहरुको छाता संस्थाको रूपमा स्थापित नारी सञ्चार गृहको पुर्व अध्यक्ष समेत हुन् भनेनेपाल पत्रकार महासंघ प्रदेश न:१ का उपाध्यक्ष पनि हुन् । भण्डारी राससमा आवद्द छिन् ।
नारी सञ्चार गृह झापाले नेपालको पहिलो महिला सम्पादक तथा राजनीतिज्ञ साधना प्रधानको सम्मानमा ‘नारी सञ्चार साधनासम्मान पत्रकारिता पुरस्कार’ स्थापना गरी वितरण गरेको हो ।
यो पुरस्कार महिला पत्रकारलाई मात्रै प्रदान गरिने नारी संचार गृह झापाकी पुर्व अध्यक्ष भिमा शिवाकोटीले जानकारी दिइन्।
त्यस्तै सम्मानपत्रसहित नगद राशी २५ हजारको युवा पत्रकारिता पुरस्कारबाट पत्रकार चिरञ्जीवि घिमिरे पुरस्कृत भएका छन्। घिमिरे नयाँ पत्रिका दैनिकमा आवद्द पत्रकार हुन् ।
युवा पत्रकारिता पुरस्कार महिलाको बिषयमा कलम चलाउने एक जना युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको र प्रत्येक दुई वर्षमा महिला तथा पुरुष पत्रकारलाई पुरस्कृत गरिने गृहकी पुर्व सचिव भूमिका फियाकले बताइन् ।
विर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाई र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले पुरस्कृत प्रतिभालाई प्रमाण पत्र र नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा नारी सञ्चार गृहकी संस्थापक अध्यक्ष साबित्रा दाहालले पुरस्कृत प्रतिभाको नाम घोषणा गरेकी थिइन् ।
कार्यक्रम नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको हो । कार्यक्रममा स्वागत सह-सचिव ज्योस्ना श्रेष्ठले र सञ्चालन सचिव माया मितु न्यौपानेले गरेकी थिइन्।
यसैबिच आज नै नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ ।