गोविन ल्वागुन, काठमाडौं । मिस्टर एन्ड मिस विश्वकर्मा नेपाल–२०२५ को उपाधि सौरभ विश्वकर्मा र चाँदनी रहपालले जितेका छन् ।
काठमाडौंमा सम्पन्न फिनालेमा उनीहरूले २० जना प्रतियोगीहरुलाई उछिन्दै उपाधि चुमेका हुन् ।
महिलातर्फ रविना बराइली फर्स्ट रनरअप, सन्ध्या घतानी सेकेन्ड रनरअप बने भने सारू सुना तेस्रो र सविना विक चौथो भए । त्यस्तै, पुरुषतर्फ विमोचन विक फर्स्ट रनरअप, ग्रिस विश्वकर्मा सेकेन्ड रनरअप र प्रज्ज्वल खाती थर्ड रनरअप भएका छन् ।
उक्त कार्यक्रममा विश्वकर्माको सांस्कृतिक पोशाक औपचारिक रूपमा सार्वजनिक पनि गरिएको थियो ।
जस अन्तर्गत पुरुषले लगाउने सेतो रङको फेटा, कानमा मुन्द्रा, सेतो रङकै भोटो, कम्मर मुनि मुजैमुजा परेको हल्का सेतो रङकै जामा, कम्मरमा सेतै पटुका, कम्मरमा भिर्ने ढाल, तरबार जस्ता पोसाक प्रदर्शन गरिएको थियो भने महिलाले लगाउने शिरबन्दी, रातो गम्छा, फूलीतथा झम्के मुन्द्री, मालवाडी, चाँदीको हँसुली, पहेँलो, रातो र हरियो पोतेमा जन्तर, पैसाको माला, रातो फूलबुट्टे मखमल लगायतका पोशाक रहेका थिए । पोशाकको खोज अध्येता तथा लेखक डिबी नेपाली दमुले गरेका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री मीन विश्वकर्मा, पूर्व सांसद आशा विश्वकर्मा, दलित अभियन्ता खगेन्द्र सुनार लगायत दलित समुदायका कलाकार, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मोडल अलिशा गहजराजको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताका लागि ड्रेस डिजाइन ज्वालाराज पोखरेलले गरेका थिए । कार्यक्रम आयोजक संस्था बिब्रोस इन्टरटेनमेन्टका अध्यक्ष सञ्जय विश्वकर्माले ‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टर कन्टिनेन्टल’ विश्वकर्मा समुदायको युवाहरूका लागि प्लाटफर्म निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताए ।
प्रतियोगितामा काठमाडौंसँगै इटहरी, बर्दिया, नवलपरासी, पोखरा, बुटवल, भोजपुर, नेपालगञ्ज लगायत विभिन्न जिल्लाबाट सहभागिता रहेको थियो । फिनालेमा विजेताहरूलाई नगद ५० हजार सहित गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।




