गोविन ल्वागुन, भद्रपुर । नेकपा एकीकृत समाजवादीले झापाका १५ वटै पालिकामा विपन्न आवास पुर्ननिर्माण अभियान सुरु गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवसको अवसर पारेर बुधबार भद्रपुर नगरपालिकाबाट अभियान सुरु भएको हो ।
अभियान अन्तर्गत झापाका प्रत्येक पालिकामा एक/एक वटा विपन्नको आवास पुर्ननिर्माण गरिने पार्टीका युवा नेता तथा अभियान संयोजक वासु दुलालले जानकारी दिए । उनका अनुसार आज भद्रपुरबाट उद्घाटन गरिएको अभियानलाई निरन्तरता दिइनेछ ।
नेकपा एस झापाको आयोजनामा शुरु गरिएको अभियानको उद्घाटन पार्टीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज पुष्प पोखरेलले गरेका थिए ।
उद्घाटन कार्यक्रममा नेकपा एस झापाका अध्यक्ष विपी भट्टराई सहित केन्द्रिय सदस्य, प्रदेश सदस्य, नगर कमिटी, वडा कमिटी साथै पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मुल नाराका साथ अभियान शुरु गरिएको अभियान संयोजक दुलालले बताए । कार्यक्रम जिल्ला कमिटी सचिव सानु कुमार लामाले सञ्चालन गरेकाथिए ।
आज देशभर नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस मनाएका छन् ।



