
बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक‘गाईजात्रा उत्सव’ हुने भएको छ । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी उत्सवको बारेमा जानकारी गराएको हो ।
आगामी साउन २४ गते हुने हास्यव्यङ्ग्य प्रस्तुति सहितको गाईजात्रा उत्सवसँगै लाखे नृत्य प्रतियोगिता समेत हुने आयोजकले जानकारी दिएको छ । लाखे नृत्य प्रतियोगिताका बिजेता हुने टोलीलाई १० हजार रूपैँया,द्वितियलाई सात हजार,तृतियलाई पाँच हजार तथा सहभागी सम्पुर्ण टोलीलाई नगद रू एक हजार प्रदान गरिनेछ ।
कार्यक्रम संयोजक तथा नेवा: देय् दबु प्रदेश १ का निवर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले गाईजात्राको अवसरमा हास्यव्यङ्ग्य सुन्ने र सुनाउने कार्यक्रमको झापामा सुरुवात गर्ने उद्देश्यसहित यो कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिइने जानकारी दिए । सो कार्यक्रममा साहित्यकारहरु होम सुवेदी, चूडामणि वशिष्ठ, गणेश निरौला, केशव आचार्य, टंक विकल्प, पिनाकी कोइराला, मदन भण्डारी, विकास शिवा, रहस्य विक्रम चिमरिया, राजीव हलवाई, परिक्रमा श्रेष्ठ, जीवनकुमार श्रेष्ठ, कृष्ण अनमोल, सुरेन्द्र श्रेष्ठ गरी १४ जना साहित्यकारले हास्यव्यङ्ग्य प्रस्तुति रहने बताए ।

कार्यक्रममा दबूका प्रदेश न:१ का सदस्य तथा झापा इन्चार्ज भरतकुमार श्रेष्ठले नेवारी संस्कृति र लाखे नृत्य उत्पतिका बारेमा चर्चा गर्दै झापामा झन्डै ३० हजार हाराहारी सङ्ख्यामा नेवार रहेको र संस्कृति संरक्षणका निम्ति यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।
दबूका झापा अध्यक्ष यामकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । दबूका झापा सचिव लक्ष्मण ज्वयल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा सहआयोजक संस्था नेवा: मिसा दवू झापा अध्यक्ष तिलरुपा श्रेष्ठ, नेवा: देय दबू बिर्तामोडका अध्यक्ष टेकबहादुर श्रेष्ठ,वरिष्ठ साहित्यकार केशव आचार्य, नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष प्रेम घिसिङ, मेचे शिवियारी आफतका केन्द्रीय अध्यक्ष विरेन मेचे, दबूका कोशी प्रदेश सचिवालय सदस्य छत्रबहादुर श्रेष्ठ, पूर्वसदस्य केशवकुमार ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।

