
बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित श्रीजय ड्रिमल्याण्ड पार्कमा महिलाहरूको सम्मानमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । बिहिवार श्रीजय ड्रिमल्याण्ड पार्कको आयोजना र इलाम झापा मैत्री समाज बिर्तामोडको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रमुख,प्रतिनिधिहरू र बिभिन्न क्षेत्रका महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो । अरू दिन प्रवेश शुल्क २०० रूपैंया लाग्ने उक्त पार्कमा सो दिन तिजको अवसरमा महिलाहरूलाई निशुल्क प्रवेश गरिएको थियो । साथै नौ तले भ्यु टावर प्रवेश पनि निशुल्क रहेको थियो ।
कार्यक्रममा सहभागी सबैलाई सेनिटरी प्याड र पोते माला निशुल्क प्रदान गरिएको थियो ।

पार्कका सन्चालक जयनारायण ढुङगाना र अन्जना ढुङगानाको अध्यक्षकतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडका सञ्चालक पुर्णिमा श्रेष्ठ रहेका थिए । इलाम झापा मैत्री समाज बिर्तामोडका अध्यक्ष तिलोत्तमा खत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सन्चारकर्मी भुमिका फियाक लिम्बूले गरेकी थिइन् ।

निजी लगानीमा करिब १० बिघामा सन्चालित उक्त पार्कमा भ्युटावर सहित ३ वटा स्विमिङ पुल रहेको छ । इलाम झापा मैत्री समाजले इलाममा जन्मिएर झापालाई कर्मथलो बनाएका व्यक्तिहरूलाई संगठित गर्दै विभिन्न सामाजिक सेवामा योगदान गर्दै आएको छ ।

