माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषा घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमका बिच माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रुपमा कार्यान्वयमा ल्याएको छ । यससँगै माङसबेबुङ लिम्बू भाषा लागू गर्ने पहिलो पालिका बनेको छ ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ‘लिम्बू भाषा’ कामकाजको भाषाको रुपमा लागू भएको घोषणापत्र वाचन गरेर औपचारिक रुपमा कार्यान्वयनमा ल्याएको हो ।
माङसेबुङ गाउँपालिकामा बहुसंख्यक नागरिकले बोल्ने ‘लिम्बू भाषा’ (किरात सिरिजङ्गा लिपिमा लेखिने) लाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयनमा ल्याइएको अध्यक्ष राईले बताए । २०८३ वैशाख ११ गतेको ६६ औं कार्यपालिका बैठकको निर्णय अनुसार ‘लिम्बू भाषा’ कार्यान्वयनमा ल्याइएको उनले बताए ।
अबदेखि गाउँपालिका र मातहतका सबै सरकारी कार्यालयहरुमा प्रयोग हुने बोर्ड, लेटरप्याड, फाराम लगायतका सामग्रीमा नेपाली भाषासँगै ‘लिम्बू भाषा’ तथा ‘किरात सिरिजङ्गा लिपि’ प्रयोग गरिने अध्यक्ष राईले जानकारी दिए ।

‘लिम्बू भाषा’ सरकारी काजकाजको भाषा घोषणासँगै माङसेबुङ गाउँपालिका र साम्जिक मुन्धुम आधारभूत विद्यालयबीच विद्यालय मर्मत सम्भारको योजना नेपालीसँगै ‘लिम्बू भाषा’ र ‘किरात सिरिजङ्गा लिपि’ मा लेखिएको सम्झौतापत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको छ । सम्झौतापत्रमा गाउँपालिकाको तर्फबाट निमित्त प्रमुख प्रशासीय अधिकृत बुद्धिप्रसाद खतिवडा र विद्यालयका तर्फबाट प्रधानाध्यापकको तर्फबाट प्रधानाध्यापक कल्पना लिम्बूले हस्ताक्षर गरेका छन् ।
माङसेबुङ गाउँपालिकाले नेपालको संविधानको धारा ३, ६, ७ (२) तथा धारा ३२ (१) ले सुनिश्चित गरेको भाषा तथा संस्कृति सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने उद्देश्यले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञचालन ऐन, २०७४ को दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै ‘लिम्बू भाषा’ लाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गरिएको उनले बताए ।
‘यहाँको बहुसंख्यक लिम्बू जातिले बोल्ने ‘लिम्बू भाषा’लाई हामीले आजदेखि माङसेबुङमा सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याएका छौं,’ अध्यक्ष राईले भने, ‘नेपालको संविधानले आत्मासात गरेको बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसाँस्कृतिक राष्ट्रको भावना, जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको मर्मअनुसार जातीय र भाषिक बाहुल्यताका आधारमा यो निर्णय गरेका हौं ।’

गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले जातीय र भाषिक बाहुल्यताको आधारमा पहिलो पटक ‘लिम्बू भाषा’लाई सरकारी कामकाजीको रुपमा लागू गरिएको दावी गरे । ‘हामीले ७५३ मध्ये ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषाका रुपमा प्रयोगमा ल्याउने पहिलो पालिका बनाएका छौं,’ उपाध्यक्ष नेम्बाङले भने, ‘यसलाई प्रभावकारी उपयोगका लागि सबै सरोकारवालाको सहयोगको अपेक्षा छ ।’
‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा लागू भएपछि सरोकारवालाहरु समेत उत्साहित भएका छन् । किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार मोहनसिंह थेवेले ‘लिम्बू भाषा’ कामकाजको भाषा घोषणा हुनु समग्र मातृभाषीहरुको लागि खुसीको खबर रहेको प्रतिक्रिया दिए । उनले ‘लिम्बू भाषा’ कामकाजी भाषाको रुपमा कार्यान्वयनमा आउनु भाषाको संरक्षण र पुस्तान्तरणका लागि कोशेढुङ्गा साबित हुने उल्लेख गरे । ‘मातृभाषालाई संविधानप्रदत्त उपयोगमा ल्याउन माङसेबुङ गाउँपालिकाले सुरु गरेको कार्यलाई सकरात्मक रुपमा लिएका छौं,’ थेवेले भने, ‘यसले मातृभाषाको संरक्षण र पुतान्तणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यसलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि हाम्रो संस्थाको तर्फबाट समेत सकरात्मक सहयोग रहनेछ ।’
लिम्बू भाषा सरकारी कामकाजका रुपमा कार्यान्वयन सहजीकरणका लागि पाँचौ तहको भाषिक सहजकर्ता करारमा नियुक्ति गरेको छ । भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ ।

प्रदेश प्रमुख: पर्शुराम खापुङ
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार १६ हजार आठ सय १० जनसंख्या रहेको माङसेबुङमा ४२ दशमलव ८३ प्रतिशत लिम्बू र ३३ दशमलव ६ प्रतिशत राई जातिको बसोबास छ । जातीय र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले २०७५ साल मङ्सिर १३ गतेदेखि ५ नं. वडा कार्यालयमा ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरी लागू गरिसकेको थियो । सो वडामा २०७ मा नै एक जना भाषिक सहजकर्ता (सहायक चौथो) नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले भूगोल, जाति, भाषा, लिपि, धर्म र संस्कृतिको विविधता मुलुकको अमूल्य सम्पत्ति भएको बताएका छन् । उनले विविधताबीचको एकता नै नेपालको शक्ति भएको पनि बताए ।
‘फूलबारीमा जसरी धेरै प्रकारका फूल समान रूपमा फुल्दा बगैंचाको सौन्दर्य बढेर जान्छ, त्यसरी नै नेपाललाई बगैंचाका रूपमा सम्झेर, हिमाल पहाड, तराई, जातजाति, भाषाभाषी संस्कृति र सम्पदाले समानुपातिक अवसर पाउँदा देश सुन्दर बन्छ,’ उनले भने, ‘सबैको पहिचानको सहभागिताले राष्ट्रिय पहिचान बलियो हुन्छ, राष्ट्रिय पहिचान बलियो भए राष्ट्रिय एकता बलियो हुन्छ ।’ उनले सबै समुदायबीचको सद्भाव, मेलमिलाप, प्रेम र सहिष्णुता हाम्रा आवश्यकता भएको बताए ।

