माङसेबुङ । इलामको माङसेबुङ–६ मा टोल स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । साबिक वडाहरुलाई मिलाएर बनाइएको टोल स्तरीय प्रतियोगिता जेठ २२ गते देखि सुरु हुनेछ । प्रतियोगितामा महिला तथा पुरुष विधाका फुटबल सहित पुरुष भेट्रान्स फुटबल र३० वर्ष माथिका महिलाहरुको लागि लुङ्गी फुटबल खेल हुनेछ ।
माङसेबुङ ६ स्थित हस्टेमा रहेको पारुहाङ खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता माङसेबुङ ६ को सहयोग तथा टोलस्तरीय युवा तथा खेलकुद समितिको आयोजनामा हुनेछ ।
राष्ट्रको लागि खेलकुद, स्वस्थको लागि खेलकुद भन्ने मूल नाराका साथ प्रत्येक वर्ष आयोजना भइरहेको प्रतियोगिताको महिला तथा पुरुष फुटबलको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् भने भेट्रान्स तर्फ र लुङगी तर्फको विजेताले २० हजार र उपविजेताले १० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र उपाधि हात पार्नेछ ।
प्रतियोगिता अन्तर्गत भेट्रान्स तर्फको फाइनल खेल जेठ २४ गते हुनेछ भने अन्य विधाका फाइनल खेलहरु जेठ २५ गते आयोजक समिति सदस्य ध्रुव राईले जानकारी दिए ।
गत वर्ष पुरुष तर्फको फाइनल खेलमा बाँझो ६ ले बाँझो १ लाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगिता अन्तर्गत भएको महिला फुटबलतर्फ बाँझो ३ ले बाँझो ६ लाई हराउदै उपाधि जितेको थियो भने पुरुष भेट्रान तर्फ बाँझो ५ लाई हराउदै बाँझो ६ विजयी भएको थियो । महिला लुङ्गी खेलमा बाँझो ५ ले बाँझो ६ लाई २–० गोल अन्तरले पाखा लगाउदै च्याम्पियन बनेको थियो ।



