adv

पहिलो खेल जितेको इरानले के स्पेनलाई रोक्न सक्ला त ?

विश्वकप समूह ‘बी’ को दोस्रो खेलमा बुधबार राति पौने १२ बजे स्पेन र इरान खेल्दैछन् । यो इरान र स्पेनबीच हुन लागेको पहिलो खेल हो ।समूह चरणको पहिलो खेलमा मोरक्कोलाई १-० ले हराएको इरानले अघिल्लो चरणमा जाने सम्भावना बनाउन पोर्चुगलसँग बराबरी गरेको स्पेनलाई रोक्नुपर्ने हुन्छ ।

मुख्य डिफेन्डर रुजबेह चेसामी घाइते रहेकाले इरान समस्यामा परेको छ । उनी अभ्यासका क्रममा घाइते भएका थिए । अब उनको स्थानमा मोहम्मद रेजा खानजादेलाई खेलाइने सम्भावना छ ।

स्पेनले पहिलो खेलमा पोर्चुगलसँग खेलेको टोलीमा फेरबदल नगरी इरानसँग खेल्ने सम्भावना प्रबल छ । स्पेनिस टिम स्टार खेलाडीले भरिएको छ । डिफेन्स र मिड लाइनमा उत्कृष्ट तालमेल मिल्ने खेलाडी स्पेन टिममा छन् । डिफेन्समा रियल मड्रिडका सर्जिओ रामोस र बार्सिलोनाका जेरार्ड पिके साथै मिडफिल्डमा बार्सिलोनाका आन्द्रेस इनिस्टा र बुस्केट्स उम्दा लयमा छन् ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने किपर डेभिड डेगा पनि विश्व फुटबलको उत्कृष्ट किपरको रुपमा अघि उत्रिएका छन् । उनले पहिलो खेलमा नराम्रो गल्ती गरेर टिम बराबरीमा पुगेको भए पनि उनको क्षमतामा प्रशिक्षक फर्नान्डो हिरेरोले विश्वास गरेका छन् । साथै, डेबिड सिल्भा र इस्को पनि फर्ममै देखिएका छन् ।

स्पेनको टिममा रहेका ६ खेलाडीसँग सन् २०१० मा विश्वकप उपाधि जितेको अनुभव पनि छ । जसमा डेविड सिल्भा, सर्जिओ रामोस, आन्द्रेस इनिएस्टा, पेपे रिना, सर्जिओ बुस्क्वेट्स र जेरार्ड पिके हुन् ।

इरानले अहिलेसम्म युरोपियन टिमलाई विश्वकपमा हराउन सकेको छैन । युरोपियन देशसँग विश्वकपमा इरानले पाँच खेल हारेको छ । एक खेल बराबरी गरेको छ ।

स्पेनका डियगो कोस्टाले पोर्चुगलविरुद्ध प्रहार गरेका दुई सटमा दुवै गोलमा परिणत भएका थिए । स्पेनबाट खेलेका पछिल्लो आठ खेलमा कोस्टाले आठ गोल नै गरेका छन् । यसैले इरानले अघिल्लो चरणमा जान लयमा रहेका कोस्टालाई विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

इरान यसपटक विश्वकपमा एसियाबाट छनोट हुने पहिलो टिम हो । उज्वेकिस्तानलाई २-० ले हराएपछि इरानले विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

इरानको यो पाँचौ विश्वकप हो । यसअघि इरानले सन् १९७८, १९९८, २००६ र २०१४ को विश्वकप खेलेको थियो ।

इरानले विश्वकपमा खेलेका १३ खेलमा ८ खेल हारेको छ । ३ खेल बराबरी गरेको छ । २ खेल जितेको छ । सन् १९९८ को विश्वकपमा इरानले अमेरिकालाई २-१ गोलले हराएको थियो । त्यसपछि इरानले जारी विश्वकपमा मोरक्कोलाई हराएको हो ।

 

  • कसले के भने त ?

पहिलो खेल अघि नै इरानका प्रशिक्षक कार्लोस क्विरोजले आफूहरु टुरिस्टको रुपमा मात्र रसिया नआएको र राम्रो खेल प्रदर्शन गर्ने बताएका थिए । उनले आफूहरु सक्षम रहेको र जित देखेर अचम्म मान्नु नपर्ने बताएका छन् ।

‘यदि मोरक्कोसँगको खेल हाम्रा लागि विश्वकप फाइनल खेल जस्तो थियो भने स्पेनसँगको खेल यो जगतकै ठूलो उपाधि हुनुपर्छ’ उनले भने, ‘हामीले जित्ने कुरा कुनै अनौठो मान्नु हुँदैन । खेलाडीहरु एकत्रित भएर जितका लागि संघर्ष गर्दा असम्भव केही हुँदैन ।’

यस्तै, स्पेनका मिडफिल्डर इस्कोले रसियामा आफूहरुको यात्रा अघि बढ्न इरानसँगको खेल महत्वपूर्ण रहेको बताएका छन् ।‘हाम्रा लागि महत्वपूर्ण खेल हो । अप्ठ्यारो त हुन्छ नै तर पनि हामी पहिलो मिनेटदेखि नै गोल गर्ने प्रयासमा हुने छौँ’ उनले भने, ‘हामी हाम्रै शैलीमा फुटबल खेल्ने छौँ । पोसेसनमा ध्यान दिएर राम्रा पास खेल्ने छौँ । यसले गोलको अवसर बन्ने छ । आशा छ हामी छिटै गोल हान्छौं ।’

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु