स्विस खेलाडी ग्रेनिट जाका र जर्दान शाकिरी तथा स्टेफन लिस्टेनर फिफाको सम्भावित प्रतिबन्धबाट बचेका छन् ।
शुक्रबार भएको खेलमा सर्बियाविरुद्ध गोल गरेपछि खुसीयाली मनाउने क्रममा राजनीतिक झल्को दिने गतिविधि गरेका कारण जाका र शाकिरी तथा लिस्टेनरमाथि फिफाले दुई खेलको प्रतिबन्ध लगाउने सम्भावना भएको खबर सार्वजनिक भएको थियो । फिफाले जाका र शाकिरीलाई १० हजार स्विस फ्र्यांक जरीवाना लगाएको छ भने लिस्टेनरलाई ५ हजार स्विस फ्र्यांक जरीवाना तोकेको छ । फिफाले उनीहरुलाई खेल भावनाविपरीत कार्य गरेको भन्दै उक्त जरीवाना तोकेको हो ।
त्यस्तैे सर्बियाको फुटबल संघका अध्यक्ष तथा प्रशिक्षकलाई पनि शुक्रबारको पराजयपछि दिएको प्रतिक्रियाका कारण ५–५ हजार स्विस फ्र्यांक जरीवाना लगाएको छ । त्यस्तै खेलका दौराना सर्बियाका प्रशंसकले विभेद झल्किने ब्यानर देखाएको भन्दै त्यहाँको फुटबल संघलाई ५४ हजार स्विस फ्र्यांक जरीवाना फिफाले तोकेको छ ।
स्विट्जरल्यान्डका लागि गोल गरेका जाका र शाकिरीले खुसीयाली मनाउने क्रममा अल्बानियाको राष्ट्रियता झल्कने सङ्केत दिएका थिए । दुवै खेलाडीले बुढी औंलालाई खप्टाउँदै बाँकी औंला फिजाएर उडिरहेको चिलको आकार आउने संकेत प्रस्तुत गरेका थिए । जुन आकृतिमा अल्बानियाको राष्ट्रिय झन्डा प्रतिबिम्बित भएको थियो ।
शाकिरी अल्बानियाको कोसोभोमा जन्मिएका हुन् । जाकाका पुर्खा पनि कोसोभोकै हुन् । कोसोभो पहिले सर्बियाको एक प्रान्त हो । तर २००८ मा कोसोभोले स्वतन्त्र भएको घोषणा गरेको थियो । तथापि सर्बियाले त्यसलाई स्विकारेको छैन । दुई देशबीचको तनाव अझै कायमै छ । जाकाका पुर्खौली कोसोभोका भए पनि उनीहरू अल्बानियन मूलका हुन् । जाकाका दाजु अल्बानियाको राष्ट्रिय टोलीबाट खेल्छन् ।
लामो समयको द्वन्द्वपछि बालकान्सका थुप्रै परिवार स्विट्जरल्यान्डलगायत युरोपका अन्य देशमा बसाइँ सरेका थिए । स्विट्जरल्यान्ड फुटबलमा अल्बानिया मूलका थुप्रै खेलाडी छन् ।
सेनेगलविरुद्धको खेलमा राजनीतिक गतिविधि झल्कने ब्यानर प्रदर्शन गरेका कारण फिफाले शनिबार पोल्यान्ड फुटबल संघलाई १० हजार स्विस फ्र्यांक जरीवानासहित चेतावनी दिएको छ ।
फिफा अनुशासन समितिले अर्जेन्टिना र क्रोएसियाको फुटबल संघमाथि पनि समर्थकलाई नियन्त्रणमा राख्न नसकेकोमा अनुशासनको कारबाहीका लागि अनुसन्धान गर्ने जनाएको छ ।