रोहित अधिकारीको निर्माण तथा हेमराज वीसीको निर्देशनमा तयार भैरहेको चलचित्र ‘ब्रेकअप’को हाल अष्ट्रेलियामा धमाधम छायांकन भैरहेको
छ ।
चलचित्रको २० दिनको सेड्यूल बनाएर यसको टिम केही दिन अगाडि अष्ट्रेलिया उडेको हो । अहिले, अष्ट्रेलियाका रमणिय स्थानमा चलचित्रको छायांकन भैरहेको निर्माता रोहित अधिकारीले जानकारी दिए ।
रोहितले भने-‘हामीले धमाधम छायांकन गरिरहेका छौ । सबै ठाउँमा अनुमती लिएर नै छायांकन गरिएकाले सजिलो भएको छ ।’ चलचित्रका निर्माता रोहित अधिकारी, निर्देशक हेमराज वीसी, नायक आशिरमान देशराज जोशी, नायिका शिल्पा मास्के लगायतको १० जनाको टिम छायांकनका लागि नेपालबाट अष्ट्रेलिया पुगेको हो ।
निर्माणको समयदेखि नै चर्चामा रहेको यो चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिएको रोहितले बताए । अष्ट्रेलियाकै कलाकार र प्राविधिकको टिम राखेर पनि काम भैरहेको छ ।
सलोन गएनन् कि जान पाएनन् ?
चलचित्रको घोषणा कार्यक्रममा नायक सलोन बस्नेतको पनि मुख्य भूमिका रहने बताइएको थियो । सलोनको अधिकांश दृश्य अष्ट्रेलियामा नै खिच्नु पर्ने थियो । तर, सलोन अष्ट्रेलियामा जान पाएनन् । चलचित्र ‘यात्रा’को छायांकनका क्रममा रहेकाले सलोनको बायोम्याटिक टेष्ट हुन सकेन । जसलेगर्दा, उनलाई भिजा मिलेन । सलोनले यो टेष्ट गर्नका लागि समय दिएको भए उनी अष्ट्रेलिया उड्ने थिए ।
नेपालमा उनको केही दृश्य खिचिएको छ । अब, उनको दृश्यमा रिसुट हुने निर्माता अधिकारीले बताएका छन् । अष्ट्रेलियामा रहेका आमोश शर्मालाई राखेर चलचित्रको छायांकन गरिएको छ । केही दिन अगाडि आयोजना भएको चलचित्र ‘बाबु कान्छा’को पत्रकार सम्मेलनमा नायक सलोन बस्नेतले भिजा आएर पनि आफू ‘यात्रा’को छायांकनमा व्यस्त भएकाले यो चलचित्र सहमतीमै छाडेको बताएका थिए ।