छायांकन, सम्पादन, कलर करेक्सन, डबिङलगायतका काम सकेर एउटा फिल्म पूर्ण रुपमा तयार हुन लगभग ६ महिना बढी लाग्छ । अझ, रिलिजको चाँजोपाजो मिलाएर हल पुग्दासम्म त झन्डै १ वर्ष नै भेट्छ । यस बीचमा निर्माताको खल्तीबाट लाखौं रुपैयाँ ‘स्वाह’ भइसकेको हुन्छ ।
त्यो लगानी उठ्छ वा उठ्दैन ? केहि ग्यारेन्टी छैन । फिल्म राम्रो भए चलिपनि हाल्छ नभए पहिलो शोबाटै हलबाट हात हल्लाउनु पर्छ । यसबाट निर्देशक र कलाकारलाई धेरै ठूलो नोक्सान त नहोला तर निर्माताले भएभरको जायजेथो सबै गुमाउनु पर्छ ।
यहाँ नेपाली फिल्म निर्माण गरेर विल्लीबाठ भएका धेरै निर्माताहरु छन् । अचेल फिल्म बनाएर मात्र पनि पुग्दैन त्यही अनुसारको प्रचार-प्रसार चाहिन्छ । र, फण्डा पनि । प्रचार-प्रसार जस्तै भएपनि फण्डा गर्न भने नेपाली कलाकार जति सायदै विश्वका कुनै कलाकारलाई आउँछ ।
पछिल्लो समय त आफ्नो फिल्म रिलिज हुने बेला ‘ग्वाँ ग्वाँ’ रोइदिने चलन खुब फस्टाएको छ । ‘छक्का पञ्जा २’ रिलिजको बखत निर्देशक दीपाश्री निरौला रोइन् । ‘कान्छी’ चल्नु अगाडि अभिनेत्री तथा निर्मात्री श्वेता खड्का, श्रीकृष्ण श्रेष्ठलाई सम्झिँदै रोइन् ।
फिल्म ‘शत्रु गते’ हेर्न हल पुगेका दर्शक देखेर अभिनेत्री आँचल शर्मा रोइन् । फिल्म ‘हिरोज्’ को पत्रकार सम्मेलनमा अभिनेत्री तथा निर्मात्री पूर्णिमा लामाले आफूलाई कसैले सहयोग गरेको भन्दै फिल्म हेरिदिन आग्रह गर्दै हातले आँशु पुछ्दै ‘ग्वाँ ग्वाँ’ रोइन् । दीपाश्री, श्वेता, आँचल र पूर्णिमालाई धेरैले फिल्म चलाउन गरेको फण्डा भन्दै चर्को आलोचना गरे ।
यसैबीच शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘पण्डित बाजेको लौरी’ को प्रिमियरमा अभिनेत्री सन्ध्या केसीले पनि रुन छाडिनन् । फिल्म हेरेर निस्कँदै गर्दा ओठमा मिठो हाँसो देखिएपनि मिडियाको सामुन्ने पुगेपछि उनका आँखा आँशुले नुहाए ।
सन्ध्या यो फिल्मकी लिड अभिनेत्री मात्र हुन् निर्मात्री होइनन् । ‘पण्डित बाजेको लौरी’ हेरेका धेरैले उनको अभिनयको तारिफ गरेका थिए । तर, यसको बदलामा उनले धन्यवाद आँशुले फर्काउनु अस्वभाविक देखिन्थ्यो । उनलाई पनि कतै रोएर फिल्म चल्छ भन्ने लागेको त होइन ?
सन्ध्याजी ! रुँदैमा फिल्मले बक्सअफिसमा पैसाको बिटो छाप्ने भए फिल्म बनाएर करोडौं डुबाएका कयौं निर्माताहरुको घर न घाटको बास हुने थिएन । फिल्म चल्न फिल्म आफैंमा बलियो हुनुपर्छ ।