गएको वर्ष आएको फिल्म ‘रुद्रप्रिया’ पछि पर्दामा नदेखिएका चकलेटी ब्वाई आर्यन सिग्देल र अहिलेकी मस्ट डिमान्डेड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रमुख भूमिका रहेको फिल्म ‘कायरा’ ले पहिलो दिन सुखद अकुपेन्सी प्राप्त गरेको छ ।
देशैभर वितरणको जिम्मा लिएका सुनील मानन्धरले फिल्मको ‘फर्स्ट डे’ अकुपेन्सी सुखद भन्न मिल्ने बताए । उनी भन्छन्, ‘शुक्रवार बिहानदेखि साँझसम्म ‘कायरा’ को अकुपेन्सी ६० प्रतिशतको आसपास छ । सिंगलभन्दा फिल्म हेर्न मल्टिप्लेक्समा दर्शक ओहिरिएका छन् ।’
वितरक मानन्धर शनिवार फिल्मको अकुपेन्सी शतप्रतिशत हुनेमा विश्वस्त देखिए । गीतसंगीत र ट्रेलरबाट मिलेको सकारात्मक प्रतिक्रिया र आर्यन-साम्राज्ञीको क्रेजको प्रभाव फिल्मको सुरुवाती व्यापारमा देखिने फिल्मी पण्डितहरुको आँकलन छ ।
दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको यस फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । मल्टिप्लेक्समा उच्च शोज पाएको ‘कायरा’ ले देशभरका करीब ८० बढी हल पाएको छ । वितरक मानन्धरका अनुसार, शुक्रवार राजधानी भित्र र बाहिरका सबै हल हाउसफुल नभए पनि दर्शकको उपस्थिति सन्तोषजनक रहेको छ ।
उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।
आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।
शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् ।