‘ब्यूटी विथ ब्रेन’ को उपमा बलिउड अभिनेत्री ऐश्वर्या रायलाई जति कसलाई सुहाउला ? १९९४ की विश्वसुन्दरी अहिले ४४ को उमेरमा हिँडिरहँदा पनि उत्तिकै कल्कलाउँदी लाग्छिन् ।
कमैलाई थाहा हुन सक्छ बलिउड अभिनेत्री ऐश्वर्या रायले आफ्नो करिअरको सुरुवात तमिल फिल्मबाट गरेकी थिइन् । १९९७ मा मणिरत्नम निर्देशित फिल्म ‘इरुवर’ बाट उनले डेब्यू गरेकी हुन् । यो फिल्ममा उनको आवाज अरुले नै डब गरेका थिए ।
फिल्ममा आउनुभन्दा अगाडि नै प्रख्यात बनिसकेकी थिइन् ऐश्वर्या । १९९४ मा विश्वसुन्दरी घोषित भएपछि उनको चर्चा उचाईमा पुगेको थियो । उनलाई फिल्मको अफरहरु ओइरिन थालेका थिए ।
ऐश्वर्याले बलिउड डेब्यू भने ‘और प्यार हो गया’ बाट गरिन् । बबी देवलको अपोजिटमा थिइन् उनी । फिल्म फ्लप भयो । त्यसपछि सफल फिल्मका लागि उनले ‘हम दिल दे चुके सनम’ सम्म पर्खिनुपर्यो ।
‘हम दिल दे चुके सनम’ भने ऐश्वर्याका लागि टर्निङ प्वाइन्ट बन्यो । फिल्म सुपरहिट हुनुका साथै ऐश्वर्याको अभिनयको पनि प्रशंसा भयो । त्यसपछि उनले सुभाष घईको फिल्म ‘ताल’ बाट बलिउडमा आफ्नो स्थान थप मजबुत बनाइन् ।
ऐश्वर्यालाई भारतकी हाइप्रोफाइल सेलिब्रेटिमा गनिन्छ । बच्चन खानदानकी बुहारी बनेपछि उनको प्रोफाइल अझै बढेको छ । यद्यपि, उनका पति अभिषेक बच्चनको फिल्मी करिअर भने खासै उँभो लाग्न सकेन ।
अभिषेकभन्दा अगाडि ऐश्वर्याको सलमान खान र विवेक ओबरायसित अफेयर थियो । सलमानसँगको प्रेम पछि दुश्मनीमा परिणत भयो । १९९९ मा ऐश्वर्या र सलमानबीच डेट सुरु भएको थियो । तर, २००१ मा उनीहरु अलग भए । त्यतिबेला सलमानले आफूलाई गालीगलौज गरेको र थप्पडसमेत हानेको ऐश्वर्याको आरोप छ ।
पछि उनले करिश्मा कपुरसँग ईंगेजमेन्टसमेत गरिसकेको अभिषेकलाई आफ्नो जीवनसाथी बनाइन् ।
विवाहपछि भने ऐश्वर्याको फिल्मी करिअरमा उथलपुथल आयो । विवाह लगत्तै छोरी पाएपछि उनी लामो समय फिल्मबाट टाढा रहिन् । उनले विवाहअघि नै अभिनय गरेको फिल्म ‘धुम २’ उनको विवाहपछि रिलिज भएको थियो । यो फिल्ममा उनले ऋतिक रोसनसँग हट किस सिन दिएकी थिइन् । ससुरा अमिताभ बच्चन र श्रीमान यसबाट असन्तुष्ट बनेका थिए र यो सिन हटाउन फिल्म निर्मातालाई दवाव दिएका थिए ।