ब्रान्डका रुपमा स्थापित ‘नाइँ नभन्नू ल’ को पाँचौं शृंखला अर्थात् फिल्म ‘नाइँ नभन्नू ल–५’ ले शुक्रवारबाट देशैभरका हलमा प्रदर्शन आरम्भ गरेको छ । योसँग बक्सअफिसमा भिडन्तका लागि अर्को नेपाली फिल्म ‘रेनी’ पनि छ । लभस्टोरी जनराको फिल्म ‘रेनी’ लाई गिरिश रिजालले निर्देशन गरेका हुन् । बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको यस फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साललगायतका कलाकारले अभिनय गरेका छन् ।
यस्तै,गीतसंगीत र ट्रेलरका कारण रिलिज अगावै दर्शकमाझ प्रतिक्षीत बनेको ‘नाइँ नभन्नू ल–५’ लाई भेट्रोन निर्देशक विकासराज आचार्यले निर्देशन गरेका हुन् । निर्माण पनि उनकै हो । यस सिरिजमा चर्चित कलाकारहरुको अभिनय छ ।
बाल कलाकार अनुभव रेग्मी र अभिनेत्री प्रियंका कार्कीको चौथो पटकको निरन्तरतासँगै निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्कालगायत केही कलाकार पहिलो पटक यो चर्चित फ्रेन्चाइजको सदस्य बनेका छन् ।
‘नाइँ नभन्नू ल–५’ बाट यसपटक बाल कलाकारमा सेड्रिना शर्मा र नव-नायकमा अभिषेक नेपालले डेब्यू गरेका छन् ।
फिल्ममा यसपाली इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको छ । वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् ।
बाल कलाकार अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत ‘नाईँ नभन्नू ल’ शृंखलाका विशेषता रहँदै आएका छन् । पाँचौं शृंखलामा पनि ती तीन कुरा नछुटेको निर्देशक आचार्य बताउँछन् । उनका अनुसार, सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमिली ड्रामा फिल्म हो ।
उक्त फिल्मलाई निर्देशक आचार्य र सामीप्यराज तिमल्सेनाले मिलेर लेखेका हुन् भने छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।