अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ स्टारर फिल्म ‘रामकहानी’ को नयाँ गीत रिलिज भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले ‘आएँ म तिम्रो छेउ…’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेको हो ।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तले स्वर दिएका छन् । गीतले प्रेमभाव बोल्छ । लिरिकल भिडियोमा आकाश र पूजाको रोमान्टिक चल र अचल दृश्यहरु समावेश छन् ।
रोमान्टिक कमेडी फिल्म ‘रामकहानी’ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । ‘प्रेमगीत’, ‘मेरो एउटा साथी छ’, ‘म यस्तो गीत गाउँछु’ जस्ता दर्शकको नजरमा उत्कृष्ट ठहरिएका फिल्म दिएका उनको यो फिल्ममाथि पनि दर्शकको ठूलो आश छ ।
ट्रेलर र गीतसंगीतले फिल्मको हाइप चुल्याउँदै गर्दा बक्सअफिस नतिजालाई लिएर पूर्वअनुमान पनि लगाउन सुरु भएको छ । मल्टिस्टारर यस फिल्मको इनिसियल व्यापार आक्रामक हुने फिल्मी पण्डितहरुको आँकलन छ । चाँडै यसको निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदैछ ।
केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलेलगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्मको कथा निर्देशक थापा स्वयमले लेखेका हुन् । भाद्र २२ गतेलाई फिल्मको रिलिज डेट लक गरिएको छ ।
भिडियो हेर्नुहोस्: