चलचित्र ‘अनुराग’ असोज १२ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम लिड नायिका भएको कारण पनि अहिले यो चलचित्र दर्शकमाझ चर्चित बनेको छ । यसको गीतसंगीत र ट्रेलर सार्वजनिक भएपछि भने अझ चलचित्रको राम्रो सँग चर्चा भैरहेको छ ।
अहिले चलचित्रको निर्माण टिमले कलेज-कलेजमा गएर चलचित्रको प्रचार-प्रसार गर्न थालेका छन् । नायिका एलिजा गौतमको यो डेब्यु चलचित्र हो भने, नायक समुन्द्र पण्डित पनि यस चलचित्र बाट नव-नायकको रुपमा डेब्यु गर्दैछन् । अहिले एलिजा र समुन्द्रलाई साथमा लिएर यसको निर्माणपक्षले कलेज दौडको सुरुवात गरेका छन् । आज उनीहरु जोरपाटीस्थित रहेको समता कलेज र कौशलटारस्थित जनप्रेमी कलेजमा पुगेर यसको प्रचार गरेका थिए । कलेजमा नायक र नायिका नै पुग्दा विद्यार्थीहरु भने निकै उत्साहित बनेका थिए ।
पत्रकार ऋषि धमला यसको प्रस्तुतकर्ता रहेका छन् । चलचित्र ‘अनुराग’ मा भरत गौतम र गीता भेटवालले लगानी गरेका छन् । सांगीतिक प्रेमकथामा तयार पारीएको यस चलचित्रबाट सत्यराज चौलागाइले पनि निर्देशनमा डेब्यू गरेका हुँन् । प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी रहेको यस चलचित्रमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलले संगीत भरेका छन् । किरण दाहालले चलचित्रको कथा लेखेका हुँन् भने, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको छ । चलचित्रमा राम कुमार केसीले छायाँकनको जिम्मेवरी सम्हालेका छन् ।